|

पर्वत : म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. १ स्थित बेगखोलामा रहेको अस्थाई पुल बाढीले बगाएपछि अवरुद्ध बनेको बेनी–जोमसोम सडकमा सिधा यातायात सुचारु भएको छ। बुधबार राति आएको बाढीले बेगखोलामा बनाइएको अस्थायी पुल भत्काएपछि बेनी–जोमसोम सडकमा सिधा सवारी अवरुद्ध बनेको थियो। बाढीले अस्थायी पुल बगाएपछि खोलामा डाइभर्सन निर्माण गरि अस्थायी रुपमा सवारीसाधन वारपार हुने व्यवस्था मिलाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

गत वर्ष आएको बाढीले बेगखोलामा रहेको बेलिब्रिज बगाएपछि बेनी–जोमसोम–कोरला सडक आयोजनाले गत महिना ६ मिटर लामो अस्थाई पुल निर्माण गरेको थियो। सर्वसाधारण तथा यात्रुहरु पैदलमार्फत वार गर्नका लागि साँघु बनाइएको र सवारीसाधनलाई खोलाबाटै वारपार गर्ने गरी अस्थायी रुपमा अवरुद्ध सडक सुचारु भएको हो। खोलामा पुनः बाढी आएमा सवारीसाधन वारपार गर्न सक्ने अवस्था छैन।

पहिरोको जोखिमका कारण यसअघि नै बेनी–जोमसोम सडकमा रातको समयमा सवारी सञ्चालन बन्द गरिएको छ। भदौ १५ गतेसम्म बेनी नगरपालिका वडा नं. ९ गलेश्वरदेखि अन्नपूर्ण गाउँपालिका वडा नं. ३ दाना खण्डको सडकमा रातमा सवारी सञ्चालन नगर्ने निर्णय भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.