|

काभ्रे : निर्वाचन आयोगले श्रावण १ गतेदेखि १५ गतेसम्म फोटो सहितको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्नका लागि खुला गरेपछि जिल्लास्थित निर्वाचन आर्यालयमा यतिबेला भीड बढेको छ।

काभ्रेपलाञ्चोक जिल्लाको १३ वटा नै स्थानीय तहबाट स्थानीय निर्वाचनमा मतदान गर्नबाट वञ्चित भएकाहरु आगामी निर्वाचनका लागि आफू  मताधिकारबाट वञ्चित हुने भएपछि मतदाता परिचयपत्र लिन नामावली दर्ता गर्नका लागि सदरमुकाममा भीडभाड लागेको हो।

 साविक च्यासिङखर्क–५ का गोकुल वाइबाले पहिला नबनाएकोले स्थानीय निर्वाचनमा भोट हाल्न नपाएको बताए। उनले भने, ‘फोटो सहितको मतदाता परिचय पत्र नबाएकोले चुनावमा भोट हाल्न पाएन, फेरि पनि भोट हाल्नबाट वञ्चित हुन्छ भनेर हतार हतारमा फोटो खिच्न आएको हुँ।’

रोशी गाउँपालिका ९ मंगलटारका चन्द्र बहादुर लामाले यसपालिको मतदाता नामावलीको फारम भरेपनि दर्ता गर्न ढिला भएको गुनासो गरे। ‘पहिला यति धेरै लाइन बस्नु पर्दैनथ्यो, अहिले त झन् धेरै ढिला पो गर्दो रहेछ’ लामाले भने, ‘म छोरीको नाम दर्ता गर्न आएको घण्टौं पछिमात्र बल्ल पालो आयो।’

जिल्ला निर्वाचन अधिकारी मधुकर प्रसाद पोखरेलले यसपालि नयाँ संरचना अनुसारको नयाँ सफ्टवेयर आएको र त्यसमा ईन्ट्री गर्दा ढिला हुने गरेका बताए। ‘अहिले पहिलाको जस्तो हाईन, भरेको फारमलाई स्क्यान गर्दै, फोटो र औंठा छाप लिने वेलामा पनि केही ढिला हुने गरेको छ’ पोखरेलले भने, ‘त्यससंगै आयोगले नयाँ संरचना अनुसार सफ्टवेयर प्रयोग गरेको र त्यसमा पनि पुरानोसंग भिडाएर मिल्यो मिलेन हेरेर मात्रै पूर्णता दिनुपर्ने भएका कारण ढिला हुन गएको हो।’

दिनमा १५ सय बढीले फोटो खिचाए

जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावलीमा नाम दर्ता गर्न सूचना जारी गरेको ५ दिनमा काभ्रेमा १ हजार ५ सय २८ जनाले फोटो खिचाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार श्रावण महिनाको पहिलो दिन श्रावण १ गते १ सय ८७, २ गते २ सय ९७, ३ गते ३ सय ९४, ४ गते ३ सय ५० जनाले र ५ गते करिब ३ सय जनाले फोटो सहितको मतदाता नामावालीको फारम भरि फेटो खिचाएको जनाएको छ।

२०७३ फागुन ९ गतेसम्म २ लाख ३० हजार ८ सय ४९ जनाले जिल्लामा फोटो सहितको मतदाता नामावली लिइसकेका छन्। जिल्ला निर्वाचन कार्यालय काभ्रेमा श्रवाण १ गतेदेखि फोटो खिचाउने क्रम जारी छ। पोखरेलका अनुसार जिल्लामा ८ हजार जना जतिले नामावली दर्ता गर्ने अनुमान गरिएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.