|
सांकेतिक फोटो

झापा : पहिला पनि चुँडिएको हात सफलतापूर्वक जोडेको बिर्तामोडस्थित बी एन्ड सी हस्पिटलले छिनेको खुट्टा समेत जोडेको छ। कन्काइ नगरपालिकाका ५३ वर्षीय गोपाल विष्टको छिनेको खुट्टा जोडिएको हो। 

विष्ट गत असार १२ गते मोटरसाइकल दुर्घटनामा परेका थिए। उनको मोटरसाइकललाई बसले ठक्कर दिएको थियो। 'उहाँको खुट्टा लगभग छुट्टिइसकेको थियो', बी एन्ड सीका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले भने, 'छालाले मात्रै थोरै अडिएको थियो।, 

उपचारमा संलग्न अर्थोपेडिक सर्जन डा. निराजन पराजुलीका अनुसार विष्टको अवस्था डरलाग्दो थियो। 'खुट्टाको मासु क्षतविक्षत भइसकेको थियो,' उनले भने, 'हामीले बिरामीलाई तुरुन्तै अप्रेसन रुममा लग्यौं, अप्रेसन नगर्दा रगत धेरै बगेर ज्यानै जानसक्थ्यो।'

डाक्टरका अनुसार विष्टको खुट्टाको रगतको नशा नै सुचारु थिएन। रगतका सबै नशा सिलाइएको र रडले हड्डी मिलाइएको थियो। 'तर, चोट यति  गहिरो थियो कि त्यसपछि त्यहाँको मासु मरेर कुहिन थाल्यो,' छिनेको खुट्टाको तस्वीर देखाउँदै डा. पराजुलीले भने, 'मासु सफा गर्दैजाँदा हड्डी पनि काट्नुपर्‍यो।' विष्टको देब्रे पातोको मासु निकालेर खाली ठाउँ पुरेको उनले बताए। त्यहाँ छाला पनि लगेर छोपियो। लामो प्रयासपछि आफूले सफलता पाएकोले खुसी लागेको डा. पराजुलीले बताए।

डाक्टर पराजुलीका अनुसार खुट्टा पहिलेकै अवस्थामा नफर्किए पनि विष्ट खुट्टा टेकेर हिँड्न सक्ने हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.