|

बाँके : बोयर जातको बाख्रा महँगो भए पनि सर्वसाधारणको माग बढेको छ। थोरै समयमा धेरै फाइदा दिने बोयर जातको बाख्राको माग बढेपछि क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुरालाई धान्न गाह्रो भएको छ। बोयर जातको बाख्राले ६ महिनामा ३० किलोग्राम तौल बढ्ने गरेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुराका बाख्रा वैज्ञानिक जगन्ननाथ बन्जाडेले बताए।

उनले उक्त जातको बाख्राको तौल प्रतिमहिना ९ देखि ११ केजीसम्म तौल बढ्ने गरेको बताए। बयस्क बोका २ वर्षमा सय केजी र माउ ८० देखि ९० किलोसम्म तौल हुने बताए। उनले भने, ‘बोयर जातका बोका प्रतिकेजी हजार र पाठी ७ सय रुपैयाँका दरले बिक्री भइरहेका छन्।’

वैज्ञानिक बन्जाडेका अनुसार अन्य बाख्राको बोका २ सय ५० र पाठी २ सय ४० रुपैयाँका दरले बिक्री भइरहेको जानकारी दिए। खजुरास्थित कृषि अनुसन्धान परिषद्ले ५ जातका बाख्राको अनुसन्धान गरिरहेको छ। कृत्रिम गर्भधारणमार्फत बाख्राको अनुसन्धान भइरहेको उनले बताए।

उनले अन्य जातका बाख्रा र बोयर जातको बोकाको सिमेन (बीज) बाट क्रस गरिरहेको बताए। उनले स्थानीय जातका बाख्रामा क्रस गराएर उत्पादन बढाउने उद्देश्यले बोयर जातको बोका खजुरामा ल्याइएको बताए।

कृषि तथा खाद्य सुरक्षा आयोजनाले बोयर जातको एउटा बोकालाई २ लाखमा खरिद गरेर कृषि अनुसन्धान परिषदलाई प्रदान गरेको हो। उक्त बोकाबाट जन्मेका १० वटा पाठी र ५ वटा बोका जिल्ला पशु सेवा कार्यालयमार्फत पशु विकास फार्म पोखरालाई पठाएको बन्जाडेले जानकारी दिए। परिषद्सँग २८ वटा माउ र २ वटा बोका छन्।

एउटा माउ बाख्राले कम्तीमा २ वटा बच्चा जन्माउने गरेको परिषदले जनाएको छ। परिषदका अनुसार बच्चाका लागि माउ बाख्राको पर्याप्त दुध हुने भएकोले पाठापाठी हर्लक्क बढ्ने गर्दछन्। ‘सामान्य बाख्रोभन्द दुई गुणा छिटो बढ्छन्,’ उनले भने।

परिषदसँग लोकल जातका बाख्रा ९०, बोयर ७०, बोयर क्रस ५० गरी २ सय ५० वटा बोका र बाख्रा रहेका छन्। उनले सल्यान र रुकुममा क्रस भएका बोयर जातका बाख्रा ५÷५ वटा तथा सुर्खेत र दैलेखमा २०/२० वटा बाख्रा पठाइएको जानकारी दिए। लोकल र अन्य जातको भन्दा बोयर जातको बोका एवम् बाख्राको माग धेरै आएकोले पुर्‍याउन नसकिएको परिषद्ले जनाएको छ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.