|

लहान : सिरहा नगरपालिका ४ स्थित बसबिट्टा रमौलमा युवकको हत्या अभियोगमा प्रहरीले मृतककी श्रीमतीसहित दुई जनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ पर्नेमा मृतक शत्रुधन यादवकी कान्छी श्रीमती २५ वर्षीया शुभकलादेवी यादव र सिरहा नगरपालिका–१९ सन्हैठाका वर्ष ५५ का रामचरित्र ठाकुर रहेका छन्। 

हत्यामा दुवै जनाको संलग्नता रहेको खुलेपछि प्रहरीले दुवै जनालाई जिल्ला सदरमुकाम सिरहाको हेमनारायण चोकबाट पक्राउ गरी कर्तव्य ज्यान मुद्दाअन्तर्गत सिरहा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए। 

पछिल्लो जेठ १७ गते बिहान सिरहाको विष्णुपुर गाउँपालिका ५ लक्ष्मीपुर प्र.म. बस्ने मानशिव यादवका छोरा वर्ष ३४ का  शत्रुघन यादवको टाउको र घाँटीमा धारिलो हतियारले हत्या गरी शव फालिएको अवस्थामा बाँसको झ्याङनजिकै गस्तीमा रहेको प्रहरीले शव फेला पारेको थियो। 

पुर्ख्यौली सम्पत्तिका लागि हत्या !
विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर प्र.म.का शत्रुधनको शव सिरहा नगरपालिका ६ बसबिट्टामा कान्छी श्रीमती शुभकलाको माइती गाउँ बसबिट्टादेखि दक्षिणतिर पर्ने रमौल गाउँनजिकै बाँस झ्याङमा भेटिएको थियो। प्रहरीले त्यतिबेलै हत्यामा आफन्तकै संलग्नता रहेको हुन सक्ने आशङ्काको आधारमा मृतककी कान्छी श्रीमती शुभकला यादवलाई माइतीबाट नियन्त्रणमा लिई अनुसन्धान थालेको भएपनि केही दिनपछि छोडेको थियो। 

मृतक शत्रुधनकी कान्छी श्रीमती शुभकला शत्रुधनको हत्या हुनुभन्दा एक हप्ता अघिदेखि नै माइतीमै बसिरहेकी थिइन्। जेठी श्रीमतीसँग पुरानो घरमा बस्दै आएका शत्रुघनसँग कान्छी श्रीमतीको पुर्ख्यौली सम्पत्तिको विषयमा विवाद रहेकाले ससुराली आएको मौकामा ठाकुरसँग मिलेर हत्या गरिएको आशङ्का गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.