|

पर्वत : संघ र प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउने काम सकेपछि स्थानीय तहले असार १० गतेभित्रमा आफ्ना नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ। 

यसैको तयारीमा जुरिरहेको पर्वतको पैयूँ गाउँपालिकाले भने आफ्नो नीति तथा कार्यक्रम र बजेटलाई नागरिकसँग जोड्नका लागि अनलाइनमार्फत सुझाव सङ्कलनको काम थालेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालका अनुसार आगामी आर्थिक वर्ष २०८१/८१ नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने तयारी भइरहेको अवस्थामा यसमा सरोकारवालाको विचारहरू पनि समेटियोस भनेर अनलाइनबाट सुझाव लिन लागिएको हो। 

यसका लागि गाउँपालिकाले ‘गुगल फर्म’ तयार पारेको छ। उक्त  ‘लिङ्क’ वा ‘क्यूआरकोड’मार्फत आफ्ना विचारहरू राख्न सक्ने व्यवस्था गरिएको छ। ‘फर्म’मार्फत नगई गाउँपालिकाको मेलमा पनि आफ्ना सुझावहरू सिधै पठाउन सकिने प्रमुख प्रशासकीय अधिकृत रिमालले बताए। 

फर्ममा सामाजिक विकास, आर्थिक विकास, सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पशु, पूर्वाधार लगायतका शीर्षकहरू राखिएका छन्। दिइएका शीर्षक वा अन्य विषयमा आफूमा भएका नवीनतम सोच, विचार, तरिका वा सुधार गर्नुपर्ने केही कुरा भएमा नागरिकले ‘टाइप’ गरेपछि गाउँपालिकाले हेर्ने छ। 

गाउँपालिकाको समृद्धिका लागि राम्रो सोच भएका व्यक्तिहरू सहरदेखि विदेशसम्म रहेकाले उनीहरूको सुझाव लिनका लागि पनि यो विधि उत्तम हुने जनाइएको छ।
‘पैयूँका मानिसहरू बजारदेखि अन्तरराष्ट्रिय क्षेत्रमा पनि स्तरसम्म हुनुहुन्छ। यहाँका यूवाहरू अध्ययन वा रोजगारीका लागि बाहिर हुनुहुन्छ। 

उहाँहरूमा यहाँको विकासका सोच हुन्छन्। हामीले सिधै फोन गर्न वा भेट्न नमिल्ने अवस्थामा उक्त फर्ममार्फत नै सुझाव दिन सजिलो पनि हुन्छ’, प्रमुख प्रशासकीय अधिकृत रिमालले भने, ‘उहाँहरूले गुगल फर्ममा लेख्नुभएपछि हामीले नीति तथा कार्यक्रम र बजेट निर्माणपूर्व ती सुझावहरूको विश्लेषण गर्छौँ।’

स्थानीय तहमा रहेका नागरिक, राजनीतिक दल, सरोकारवालाहरूसँग भौतिक रुपमा नै बसेर आपसी छलफल गरिने र गाउँपालिकाको समृद्धिमा सघाउ हुने खालको बजेट निर्माणका लागि तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले बताए। 

स्थानीय तहले ल्याउने नीति तथा कार्यक्रम र बजेट जति समावेशी हुन सक्यो उती नै नागरिकको अपनत्व हुने र कार्यान्वयनमा पनि सहज हुने भएकाले नागरिकको माग र सुझावका आधारमा कार्यक्रम र बजेट तयारीको काम भइरहेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.