|

काभ्रे : निर्वाचन आयोगले फोटोसहितको मतदाता परिचयपत्र बनाउन फारम खुल्ला गरेपछि जिल्ला निर्वाचन कार्यालय परिसरमा मतदाता नामावलीको फारम भरेर फोटो खिचाउनेको घुइँचो बढेको छ। निर्वाचन आयोगले श्रावण १ गतेदेखि १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालयमा फोटोसहितको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न पाउने व्यवस्था गरेपछि यतिवेला सर्वसाधारणहरु जिल्ला निर्वाचन कार्यालयमा धाउन थालेका हुन्।

त्यसरी निर्वाचन कार्यालय आउने सर्वसाधारणको घुइँचो बढ्न थालेपछि सडकमा सवारीसाधन आवतजावतमा समस्या देखिएको छ। मतदाता नामावलीमा नाम छुटेका जिल्लाभरीकै नागरिकहरु फोटो खिचाउन आउने क्रम जारी भएका कारण निर्वाचन कार्यालय भएर जिल्लाका दर्जन सरकारी कार्यालयमा आउजाउ गर्नुका साथै सो क्षेत्र भएर दैनिक आवतजावत गर्नेहरुले सास्ती भोग्नुपरिरहेको उनीहरुको भनाइ छ।
फोटो खिचाउन जिल्ला निर्वाचन कार्यालय पुगेको बुद्ध लामाले भने, ‘लाइन बस्नुपर्ने त्यतिकै छ, त्यसमाथि गाडीहरु आउनेजाने भएका कारण झन् समस्या भोग्नुप¥यो।’ लाइन व्यवस्थित बनाउन नसक्नु र सडकमा गाडी चलिरहने मुख्य सडकको छेउमा नै कार्यालय भएको कारण निकै समस्या खेप्नुपरेको सर्वसाधारणको भनाइ छ।
जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी मधुकर पोखरेलले कार्यालय मुख्य सडकको छेउमा नै भएको कारण लाइनमा मिलाएर राख्न र फारम वितरण गर्नमा नै समस्या भएको बताए। ‘हाम्रो कार्यालय, सडकसँगै जोडिएको छ, फोटो खिचाउन आउनेहरुलाई व्यवस्थित गर्न सकिरहेका छैनौं, पोखरेलले भने, ‘त्यसले गर्दा सेवाग्राहीलाई सोचेजस्तो छरितो सेवा दिन गाह्रो भइरहेको छ।’

कार्यालय बाटोमा भएकोले समस्या व्यहोर्नुपरेको भन्दै आफूले कार्यालय सार्न निर्वाचन आयोगमा पैसा माग गरेको पोखरेलले बताएका छन्। ‘आयोगको सचिवले हुन्छ त भन्नुभएको छ, तर अर्थमन्त्रालयमा नै बजेट माग गर्नुपर्ने भएकोले ढिला भएको भन्ने जानकारी आएको छ।’ पोखरेलले थपे, ‘यस विषयमा आयोगको सचिव सकारात्मक हुनुहुन्छ।’ काभ्रेपलाञ्चोक जिल्लामा शुक्रबारसम्ममा फोटो खिचाउनेको संख्या १ हजार ७ सय ५२ पुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख मधुकर पोखरेलले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.