|

  • रमेश पराजुली-

सिन्धुपाल्चोकः सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा न ३ स्थित तातोपानी र लिस्ती जोड्ने लार्चा पक्की पुलमा माथिबाट पहिरो आउँदा पूर्ण रुपमा भाँचिएको छ। पहिरोले पुल भाँचिएपछि तातोपानी वरपर क्षेत्रको वासिन्दाको जनजिवन प्रभावित भएको छ। पक्की पुल भाँचिदा सवारी आवागमनमा ठप्प भएको छ। स्थानीय झोलुङ्गे पुलबाट आवतजावत गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्याम अधिकारीले जानकारी दिए।

भोटेकोसी बाढीले अरनिको राजमार्गअन्तर्गत चीनसँगको प्रमुख तातोपानी नाका जोड्ने लार्चाको पुल भाचिएकोसँगै अवको तातोपानी नाकाको सम्भावना संकटमा परेको छ। पुल भाचिएसँगै चिनसँगको प्रमुख व्यापारिक तातोपानी नाकासँगको सम्बन्धविच्छेद नै भएको छ। पहिरो निरन्तर खसिरहेको स्थानीयको भनाइ छ। लार्चा पुललाई दुई वर्ष अघि नै प्राविधिक टोलीले अध्ययन गरी अवस्था समान्यजनक रहेको बताइएको थियो।

नाका खुल्ने सम्भावन टर्दै

भूकम्पले क्षति पुर्‍याएको सडकलगायत अन्य पूर्वाधार पुनर्निर्माण भइसक्दा पनि २६ महिनादेखि बन्द रहेको तातोपानी नाका अझै खुल्न सकेको थिएन। आईतवार साँझ तातोपानी र लिस्ती जोड्ने लार्चा पक्की पुलमा माथिबाट पहिरो आउँदा पूर्ण रुपमा क्षति हुदा तातोपानी नाका खुल्ने सम्भावना टर्दै गएको छ। चिनियाँ सरकारले तातोपानी नाका खुलाउने विषयमा खासै चासो नदेखाएकाले तातोपानी नाका खुल्न नसकेको थियो।

वर्षापछि नाका खोल्ने सम्भावना बढ्दै गएको भएपनि अब त्यो सम्भावनासमेत जिवित रहेन। नाका सुचारु नहुँदा दैनिक डेढ करोडको हाराहारीमा राजस्व संकलन गर्ने तातोपानी भन्सारमा प्रभाव परेको छ। नाका नखुल्ला १५ अर्व ३६ करोडभन्दा धेरै राजस्व घाटा लागेको छ। अरनिको राजमार्गमासमेत दैनिक ३५ लाखभन्दा बढीको व्यापारिक कारोबार हुने गर्दथ्यो। मितेरी पुलमै रहेर व्यापार गर्ने झण्डै चार हजार व्यापरी विस्थापित भएका छन्।

अरनिको राजमार्ग र मितेरी पुलदेखि चीनको न्यालामसम्मको सडक साविककै अवस्थामा फर्कदाँसमेत चीनले चासो नदेखाएकै कारण नाका पुनः सुचारु हुन नसकेको थियोे। बन्द रहेको तातोपानी नाका खुलाउन नेपाल–चीनबीचका उच्च अधिकारीहरुको सीमा सुुरक्षा बैठक पटक–पटक बसिसकेको छ।

बैठकमा चीनका अधिकारीले सडकमा क्षति पुगेको कारण देखाउँदै आएका थिए। अहिले सडक निर्माण भइसक्दा पनि नाका सूचारु गराउनेबारे चीन मौन बस्नुले पनि नाका खुल्नेका अन्यौल देखिन्छ। नाकाको विषयमा पछिल्लो समयमा कुनै छलफल समेत हुन सकेको थिएन। अहिले लार्चा पहिरोका तातोपानी नाकाको सम्भावना के भन्नेमा अन्योल देखिन्छ।

करिब २० अर्ब राजस्व घाटा

नाका सञ्चालनमा आउँदा दैनिक २ करोड राजस्व संकलन हुने तातोपानी नाका बन्द रहदा देशको अर्थतन्त्रमा करिब २० अर्बभन्दा धेरै राजस्व घाटा लागेको छ।दैनिक करिब दुई करोड राजस्व संकलन हुने नाका जुरे पहिरो, भूकम्प, भोटेकोसी बाढीपछि अहिलेसम्म आउँदा करिब २० अर्बभन्दा धेरै राजस्व घाटा लागेको देखिन राजस्व कार्यालयले जनाएको छ।

देशको अर्थतन्त्रमा यति ठूलो आर्थिक नोक्सानी हुँदासमेत नेपाल सरकारले नाका खुल्ने विषयमा अझै ध्यान खिचेको छैन। नाका खोल्ने विषमा चिनियाँ पक्षले जिब्रो चपाइरहेको बेलामा नेपाल सरकारको कमजोर चासोको कारणले नाकाको भविष्य अयोलमा परेको हो।

यसकारण पछि हट्दै छ चीन

तातोपानी नाका खुला सिमाना भएकाले चिनविरोधी गतिविधि बढ्नाले गर्दा तातोपानी नाका खोल्ले पक्षमा चीन पछि हटेको पाइएको छ। अरनिको राजमार्गको बाह्रबिसेदेखि लिपिङसम्म र झाङ्मु पुलदेखि तिब्बतको न्यालमसम्म आवतजावत गर्ने सडक बन्दा पनि चीनले चासो नदेखाउनुमा अरु कुनै कारण हुनसक्ने अध्यागमन कार्यालय लिपिङका कर्मचारी बताउँछन्। नाका सुचारु हुँदा ‘फ्रि तिब्बत’ गतिविधि हुन सक्ने आशंकाले पनि चीनले चासो नदेखाएको हो।

पर्यटक आगमन शून्य

भूकम्पपअघिका दिनमा तातोपानी धारामा नुहाउन बाह्य तथा आन्तरिक पर्यटकहरु प्रशस्तै भेटिन्थे। नाका बन्द भएसँगै भोटेकोसी बाढीले धारामा क्षति पुर्‍याएपछि अहिले पर्यटक आगमनमा शून्य रहेको छ।  नाका बन्दहुँदा यो मार्ग हुँदै चीनको मानसरोवर भ्रमणमा जाने विदेशी पर्यटक शून्यमा झरेका छन्। तातोपानी धारामा स्थान गर्ने, बन्जी जम्प गर्ने, र्‍याफ्टिङ गर्ने आन्तरिक र बाह्य पर्यटकहरु आउन छाडेको छन्।

नाका आसपास करोडौंको लगानीमा खोलिएको होटल अहिले सुनसान छ। त्यहाँ काम गर्ने कामदारहरुको रोजिरोटी गुमेको छ। नाकालाई लक्षित गरी थुप्रै बैंक तथा वित्तिय संस्थाहरु खुलेका थिए तर अहिले उनीहरु अन्य सहरहरुमा सरिसकेको छन्।

व्यापारी विस्थापित

नाका ठप्प भएपछि मुलुकले अर्बाैं राजस्व गुमाउँदै छ भने नाकाबाट जीवन निर्वाह गर्दै आएका साना ठूला व्यवसायी, मजदुर, व्यापारीसमेत गरी ४ हजारभन्दा बढी प्रत्यक्ष मारमा परेका छन्। त्यत्तिकै सख्यामा होटल व्यवसायी विस्थापित भएका छन्। उनीहरु विस्थापित भएसँगै दैनिक भीडभाड रहने सीमा क्षेत्र अहिले सुनसान छ। आफ्नै ठाउँ विरानो लाग्न थालेको छ’, स्थानीय सोनाम शेर्पाले पीडा पोखे।

नाकासँग आबद्ध भएर व्यापार गर्नेहरु पलायन भएका छन्। कति व्यापारीहरुले पेसा नै परिवर्तन गरेका छन् भने केही व्यापारी मुलुकको अन्य नाकासँग आबद्ध भएका छन्। तातोपानी नाकामा दैनिक हजार बढी कन्टेनरहरु सञ्चालन हुन्थे। उक्त कन्टेनरसँग आबद्ध चालक, सहचालक बेरोजगार भएका छन् तातोपानी नाकाबाट २ सय समूह (मेस) मा व्यवसायी संलग्न थिए।

प्रत्येक समूहमा कम्तिमा १० जनाले रोजगारी पाएका थिए। उनीहरु पनि अहिले बेरोजगार बनेका छन्। झण्डै ४ सयको संख्यामा रहेको लोडर विस्थापित बन्न पुगेका छन्। व्यवसायमा संलग्न र मजदुर गरी ५ हजार जनशक्ति नाका बन्दको मारमा परिरहेका छन्। सयौंको संख्यामा कन्टेनरहरु थन्किएर बसेको उनको भनाइ छ।

नाका सञ्चालनमा नआउँदा स्थानीय झोलेपोके व्यापारी र सामान ओसारपसार गर्ने भरिया बढी मारमा छन्। नाका क्षेत्रमा भीरपाखा बढी छ। उक्त भीरपाखमा खेती गरि खाने जग्गा छैन। नाका नखुल्दा उनीहरुलाई निक्कै समस्या भएको स्थानीय बताउँछन्। ‘दैनिक कसरी छाक टार्ने भन्ने चिन्ताले सताउँछ’ नाकामा भरियाको काम गर्दै आएकी फूल्मु शेर्पा भन्छिन्।

उच्च अधिकारीको बैठक व्यर्थ 

तातोपानी नाका खुलाउने विषयमा नेपाल र चिनियाँ पक्षका उच्च अधिकारीहरुको पटक–पटकको बैठक व्यर्थ भएको छ। छलफलमा नाका खुलाउन चिनियाँ पक्ष सकारात्मक देखिएको भए पनि बाटोको कारण देखाउँदै नाका खुल्न ढिला भएको बताउँदै आएको थियो।

तर, अहिले भौतिक रुपले पूर्ण रुपले तयार हुँदा समेत चिनियाँ पक्षले नाका खुलाउने विषयमा कुनै चासको दृष्टिले हेरेको छैन। तातोपानी नाकाको विषयमा पटक-पटक बैठक बस्दासमेत चिनियाँ पक्षले आश्वासन मात्र दिएको काम केही नगरेको स्थानीयको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.