|

बैतडी : बैंकिङ कारोबार गर्न दुईदिन लगाएर सदरमुकाम धाउनुपर्ने बैतडीको तल्लोस्वराड र पुरचौडी क्षेत्रका नागरिकको बाध्यता हट्ने भएको छ। यो समस्या हट्ने भएसँगै यहाँका स्थानीयहरु खुसीले गदगद भएका छन्। जिल्लाका ६ ओटा स्थानीय तहमा नयाँ बैंकका शाखाहरु खुल्ने भएपछि स्थानीहरु खुसीले गदगद भएका हुन्।

वाणिज्य बैंकहरुले स्थानीय तहमा जानका लागि गरेको भागबण्डाअनुसार जिल्लाका ६ ओटा नयाँ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्ने भएका हुन्।दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा भने यसअघि नै विभिन्न सरकारी तथा निजी क्षेत्रका बैंकका शाखाहरुले काम गर्दै आएका छन्। 

पुर्चौडी नगरपालिकामा ग्लोबल आईएमइ बैंक, डिलाशैनी गाउँपालिकामा कुमारी बैंक, मेलौली नगरपालिकामा एनसिसी बैंक, सुर्नया गाउँपालिकामा नेपाल इन्भेस्टमेन्ट बैंक,शिवनाथ गाउँपालिकामा नेपाल एसबिआई बैंक र सिगास गाउँपालिकामा प्रभु बैंकको शाखा विस्तार हुने जनाइएको छ।

यस्तै, दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा कुन बैंक स्थापना हुने भन्ने कुरा खुलाइएको छैन। स्थानीय तहमा जाने बजेट पहिले सरकारी बैंक (कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंक) मा जम्मा हुने र त्यहाँबाट वाणिज्य बैंकमा जम्मा गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ।

स्थानियवासी हर्षित

गाउँमै बैंक शाखा खुल्ने भएपछि स्थानीयहरु खुसीले गदगद भएका छन्। पुर्चौडी नगरपालिकामा इलाका प्रशासन कार्यालय भए पनि बैंकको काम गर्न भने स्थानीयले सदरमुकाम गोठलापानी, शाहिलेक र जिल्लाको पाटनमै आउनुपर्ने बाध्यता छ। ‘बैंकमा काम पर्दा सदरमुकाम नै पुग्नुपर्छ,’ थाहाखबरसँग कुरा गर्दै पुर्चौडी ९ का वीरेन्द्र सार्कीले भने, ‘अब नगरपालिकामै बैंक खुले त सहज हुने थियो।’

यस्तै, जिल्लाको मेलौलीमा पनि बैंक स्थापना हुने सुनेपछि स्थानिय खुसी छन्। ‘सदरमुकाम पुग्न नै सास्ती खेप्नुपर्छ, अनि बैंकका काम सकेर घर फर्किन कम्तीमा पनि २ दिन बित्छ’ स्थानीय सुरत पार्कीले भने।

बैंक तथा सरकारी कार्यालय द्वन्द्वका बेला असुरक्षाले सदरमुकाम सरेपछि स्थानिय सास्ती भोग्दै आएका छन्। बैंक शाखा स्थापना हुनसके ग्रामीण क्षेत्रका बासिन्दालाई राहत मिल्ने उद्योग वाणिज्य संघका अध्यक्ष नर बहादुर चन्द बताउँछन्। ‘द्वन्द्वका समयमा सदरमुकाम सरेका बैंक पुनःस्थापना गर्न सकिए स्थानीयलाई ठूलै राहत मिल्छ,’ चन्दले भने ‘दुई दिन हिँडेर सदरमुकाम आउनुपर्ने बाध्यता हट्छ।’

डेढ दशकदेखि ग्रामीण क्षेत्र बैंकविहीन

२०५८ सालतिर तत्कालीन विद्रोही नेकपा माओवादीले गरेको सशस्त्र द्वन्द्व उत्कर्षमा पुगिसकेको थियो। माओवादीको आधार इलाका मानिने बैतडीका ग्रामीण क्षेत्रका प्रहरी चौकीमाथि धमाधम आक्रमण हुन थालेपछि त्यस क्षेत्रमा रहेका सरकारी कार्यालय र बैंकहरु विस्थापित हुन पुगे।

डेढ दशक बितिसक्दा अहिले राज्यको व्यवस्था फेरिएको छ। तर, ग्रामीण क्षेत्रको अवस्था फेरिएन। सशस्त्र द्वन्द्वका बेला असुरक्षाले सदरमुकाम सरेका ग्रामीण क्षेत्रका बैंकका शाखा अझै पुनःस्थापना हुन सकेका छैनन्। सदरमुकाम क्षेत्रमा च्याउ उम्रेझैँ बैंक खुले पनि जिल्लाका ग्रामीण क्षेत्रमा रहेका व्यापारिक केन्द्रका बासिन्दा बैंकिङ कारोबार गर्न सास्ती भोग्दै आएका छन्।

कृषि विकास बैंक र नेपाल बैंकका शाखा पुनःस्थापना नहुँदा सर्वसाधारण हजारौं रुपैयाँ खर्चेर सदरमुकाम जान बाध्य छन्। सर्वसाधारणसँगै सरकारी, गैरसरकारी लगायतका निकायलाई समस्या हुँदै आएको छ।

दार्चुला र बैतडीका १२ गाविसको केन्द्र गोकुलेश्वर, १० गाविसको व्यापारिक तथा प्रशासनिक केन्द्र पुरचौंडी हाट र १२ गाविसको मुख्य बजार मेलौलीमा बैंक पुनःस्थापना हुन सकेका छैनन्। विसं २०५८ अघि गोकुलेश्वर र हाटमा कृषि विकास र नेपाल बैंक तथा मेलौलीमा कृषि विकास बैंकका शाखा रहेका थिए।

मुलुक शान्ति प्रक्रियामा प्रवेश गरेदेखि नै ती बैंक पुनःस्थापनाको माग हुँदै आएको छ। राजनीतिक दलले पुनःस्थापनाको नारा दिएर दुई पटक चुनावमा बाचा गरे पनि चासो नदिएको स्थानीयको आरोप छ। अझै द्वन्द्वको घाउ नभलाएको उनको भनाई छ। ‘सशस्त्र द्वन्द्वका बेला बैंक विस्थापित भए तर अहिले सम्म पुनःस्थापना नहुँदा दुःख लागेको छ’ , उनले भने, ‘द्वन्द्वको घाउ अझै नमेटिएको महशुस भइरहन्छ।’

मेलौलीमा जिल्ला आयुर्वेद अस्पताल, इलाका प्रहरी, क्याम्पस, प्राथमिक स्वास्थ्य केन्द्रसहित इलाकास्तरका अन्य कार्यालय रहेका छन्। जिल्लाको दुर्गम क्षेत्र मानिएको पुरचौंडी हाटमा करिब एक दर्जन गाविसमा सेवा दिने उद्देश्यले गत असारदेखि इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ। इलाका प्रशासनले तत्काल नेपाली नागरिकताको प्रमाणपत्र, प्रतिलिपि, नाबालक परिचयपत्र, विभिन्न सिफारिस, प्रमाणित गर्नुपर्ने कागजातलगायत सेवा दिइरहेको छ।

त्यस्तै, स्थानीय बजार अनुगमन, कार्यालयको अनुगमनलगायत काम समेत गरिरहेको प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले बताए। तर, सामान्य बैंकिङ कारोबार गर्न एक दिन खर्चेर सदरमुकाम पुग्ने बाध्यता भएपछि स्थानीयले सास्ती खेप्नुपरेको छ। हाटका स्थानीय बासिन्दा विकल्पमा पाटन बजार जाने गरेका छन्। पाटन बजारमा कृषि विकास बैंक र ग्लोबल आइएमइ बैंक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.