|

काठमाडौं : आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको पाँचौँ खेलमा नेपाल पाँच विकेटले विजयी भएको छ।

सिंगापुरस्थित इन्डियन क्रिकेट ग्राउण्डमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको मलेसिया ३५.१ ओभरमा ८९ रन बनाउँदै अलआउट भयो। विजयी लक्ष्य नेपालले २२.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका लागि रोहितकुमार पौडेलले अविजित ३४ रन बनाए। उनले ३७ बलमा छ चौका प्रहार गरे। दीपेन्द्रसिंह ऐरिले अविजित १९ रन, सन्दीप सुनारले १५ र अनिल साहले १२ रन बनाए। 

बलिङतर्फ मलेसियाका विरनदीप सिंहले तीन तथा हफिजुद्धिनले दुई विकेट लिए। यसअघि ब्याटिङ गर्दै मलेसियाका लागि साएद अजिजले ४६ तथा विरनदीपले १० रन बनाए। मलेसियाका चार ब्याट्सम्यान शून्यमा पेभेलियन फर्केका थिए। 

बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने एक्लैले सात विकेट लिए। उनले ९.१ ओभर बलिङ गरी एक मेडन राखेर १३ रन मात्र खर्चे। साहब आलमले दुई तथा रिजन ढकालले एक विकेट लिए। आलमले ९ ओभरमा २३ रन दिए। मलेसियाविरुद्ध डेब्यु गरेका ढकालले पाँच ओभरमा एक मेडन राखि १५ रन दिए । नेपाल पाँच खेलमा चार जित र एक हारसँगै आठ अङ्कसहित दोस्रो स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.