|

पर्वत : साउन महिनाको दोस्रो सोमबार आज म्याग्दीको बेनी नगरपालिका वडा नं. ९ मा रहेको गलेश्वरधाम मन्दिरमा २० हजार भन्दा धेरै भक्तजनले पूजाआजा गरेका छन्। पहिलो सोमबार अपेक्षा गरेभन्दा निकै न्यून संख्यामा भक्तजहरु आएको भएपनि आजको सोमबार २० हजार भन्दा धेरै भक्तजनहरुले दर्शन गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव राम बानियाँले जानकारी दिए।

बानियाका अनुसार पूजाआजाको लागि म्याग्दी बाहेक पर्वत, बागलुङ, कास्की, चितवन, नवलपरासी लगायत भारतको बिभिन्न स्थानबाट पनि दर्शनार्थीहरु आएका छन्। साउन महिनाको प्रत्येक सोमबार विशेषगरी विवाहित महिलाहरु पतिको दिर्घायु र अविवाहितहरु आफ्नो मनोकामना पूराको कामना गर्दै चोखो निष्ठा गरी ब्रत बस्ने र शिव मन्दिरमा गई पूजा गर्छन्।

विहान पाँच बजेदेखि नै यातायातका साधनको चाप अत्याधिक बढेका कारण सवारी व्यवस्थापनमा समेत निकै सकस भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। भक्तजनहरुलाई सहज तरिकाले दर्शन गर्ने ब्यवस्था मिलाउन विभिन्न संघसंस्थाहरुले स्वयंसेवकहरु परिचालन गरेका थिए।

सत्य युगमा पार्वतीको गला पतन भएको मानिने गलेश्वर मुक्तिनाथ क्षेत्र प्रवेशद्धारको रुपमा चिनिन्छ। कृष्णगण्डकीबाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास छ। गलेश्वरधाममा रहेका ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकाररूपी चिन्ह मानवनिर्मित नभई आफै उत्पन्न भएको धार्मिक पुस्तकहरुमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.