|

दमकः विवाह के हो भन्ने नै थाहा नभएको उमेरमा विवाह भयो उनको। ०२२ सालमा उनको विवाह हुँदा उनी १० वर्षकी मात्र थिइन्। 

पहाडको ठाउँ, भौगोलिक हिसाबले विकट, परम्परागत कुरीतिले गाँजेको समाज, महिलालाई हेर्ने र व्यवहार गर्ने तरिकामा पुरातन सोच र शैली त्यस बेलाका नियति थिए। विवाह भएपछि अन्य महिला जस्तै उनले पनि दुःख र पीडाका धेरै पहाड बोकिन्। 

पढ्ने र लाऊँलाऊँ खाऊँखाऊँको उमेरमा विवाह गरेर उनले धेरै संघर्ष गरिन् तर उनको वैवाहिक जीवन सफल हुन सकेन। उनी अर्थात् मोरङ उर्लाबारीकी मीना बराल आफूले सानैमा विवाह गर्दा भोगेका पीडालाई सम्झिएर स्तब्ध बन्छिन्। उनको कामना छ, समाजमा महिलाले भोग्नुपरेका यावत् दुःख र पीडाबाट मुक्ति होस्।

उनले समाजमा अनेकौँ समस्या देखिन्, भोगिन्। अनेक समस्याबाट मानिस पीडित छ। भोलिका कर्णधार बालबालिका सडकमा यसै भौँतारिएका छन्। कोही कसैले उनीहरूप्रति दया, माया र संवेदना देखाउँदैन। यस्ता घटना र दृष्यले उनले एउटा अठोट गरिन्, अनाथ बालबालिकाको उद्धार गर्ने, उनीहरूलाई शिक्षादीक्षा दिएर असल नागरिक बनाउने। 

यही उद्देश्यले २०५७ सालदेखि उनको सोचमा उर्लाबारीमा बाल आश्रम स्थापना भयो। सुरुमा सात जना अनाथ बालबालिकालाई आश्रय दिएर सञ्चालन गरिएको उक्त बालगृहमा अहिले ४३ जना बालबालिका आश्रित छन्। ‘ताप्लेजुङको ग्रामीण भेग सावदेनमा सानै उमेरमा विवाह गर्दा धेरै पीडा भोगेँ। १० वर्षको उमेरमा विवाह गर्दा केही जानेकी थिइनँ’, मीना भन्छिन्, ‘पढ्ने उमेरमा विवाह भयो, श्रीमानको घर पनि त्यस्तै पर्‍यो। धेरै संघर्ष गर्दा पनि घर बस्न सकेन।’

लामो समयसम्म संघर्ष गर्दा पनि श्रीमानले दुई जना सौता थपेपछि श्रीमानलाई छोडेर समाज सेवामा लागेको बताउँछिन् उनी।

भन्छिन्, ‘२०३५ सालदेखि नै समाज सेवामा लागेकी हुँ, त्यतिबेला महिलाको क्षेत्रमा काम गर्थें।’ उनका बुबाआमा सम्पन्न भए पनि उनले आफ्नो पढ्ने उमेरमा विवाह गरेकाले बुबाआमासँग बस्न उचित ठानिनन्। त्यसैले उनले आफ्नो जीवन समाज सेवामा समर्पित गर्नेतर्फ लागिन्।

मीनाले बालगृह सञ्चालन गर्नुअघि महिलाका लागि सहकारी संस्था खोलिन् र पछि त्यसलाई बचत तथा ऋण सहकारीका रूपमा उर्लाबारीमा स्थापित गरिन्। त्यसपछि उनले महिलाका लागि काम गर्ने धेरै सामाजिक संघसंस्था भएको भन्दै बालबालिकाका क्षेत्रमा काम गर्ने संस्था स्थापना गर्ने सोच बनाइन्। 

‘महिलाका क्षेत्रमा काम गर्ने संघसंस्था धेरै पाएँ, तर बालबालिकाका क्षेत्रमा काम गर्ने पाइनँ’, मीना भन्छिन्, ‘त्यसैले बालगृह सञ्चाल गर्ने सोच बनाएँ।’ त्यसपछि उनले २०५७ सालमा महिला विकास तथा बालबालिका चेतना विकास केन्द्रद्वारा सञ्चालित नमुना बालगृह दर्ता गरिन् र सञ्चालनमा ल्याइन्। 

उक्त संस्था आफ्नो सोच र ११ जना महिलाको सहयोगमा स्थापना गरेको बताउँछिन् मीना। उनले २०७१ सालमा नेपाल सरकारले वितरण गर्ने सामाजिक सेवा पुरस्कारसमेत पाइसकेकी छन्।

पश्चिम कर्णालीदेखि पूर्वको ताप्लेजुङसम्मका बालबालिका बालगृहमा

नमुना बालगृहमा अहिले पश्चिम नेपालको कर्णालीदेखि पूर्वको ताप्लेजुङसम्मका विभिन्न २२ जिल्लाका ४३ जना बालबालिका बस्दै आएका छन्। 

बालगृहमा दुई जना चेपाङ जातिका बालबालिकादेखि लोपोन्मुख सन्थाल जातिकासमेत गरी १५ जातजातिका बालबालिका बस्दै आएका छन्। उक्त बालगृहमा बाबुआमा नभएर बेसहारा भएका बालबालिकालाई राखिएको मीना बताउँछिन्। ‘यहाँ बेसहारा बालबालिका छन्, उनीहरूको दुःख देखेर हामीले ल्याएका हौँ’, उनी भन्छिन्, ‘कतिले खाना खान पाएका थिएनन्, कति भौँतारिइरहेका थिए।’ कतिका बुबाआमाको मृत्यु भइसकेको र कतिका बेपत्ता भएको उनले बताइन्।

४३ जनाकी ‘ममी’ मीना

६२ वर्षकी मीनाका आफ्ना छोराछोरी छैनन्। तर उनलाई ४३ जना बालबालिकाले ‘ममी’ भनेर बोलाउँछन्। उनीहरूले यसरी बोलाउँदा आफूलाई पनि आनन्द लाग्ने उनी बताउँछिन्। ‘यिनीहरू सबै मेरा छोराछोरी हुन्, उनीहरूले मलाई ममी भनेर बोलाउँदा मनै प्रफुल्ल हुन्छ, आनन्द महसुस हुन्छ’, उनी भन्छिन्।

शिक्षामा कमी हुन दिएन बालगृहले

बालगृहमा रहेका सबै बालबालिकालाई बालगृहले नै पढाइरहेको छ। अरूसँग सहयोग मागेर भए पनि बालबालिकाको पठनपाठनमा असर नपरेको मीना बताउँछिन्। उनी भन्छिन्, ‘विद्यालयले हाम्रा लागि ठूलो सहयोग गरेको छ।’ 

त्यहाँ रहेकामध्ये दुई जनाले कक्षा १२ सकिसकेका छन्। नौ जना नजिकैको बोर्डिङ स्कुलमा अध्ययनरत छन् भने अन्य सरकारी विद्यालयमा अध्ययन गर्छन्। उनीहरूको शिक्षा विद्यालयले निःशुल्क गरिदिएको मीना बताउँछिन्। ‘विद्यालयले शिक्षा त निःशुल्क गरिदिएको छ, तर उनीहरूका लागि चाहिने झोला, कपी जस्ता सामग्रीमा धेरै समस्या छ’, मीना भन्छिन्, ‘उनीहरूले भनेजस्तो दिन सकेको छैन, कहिलेकाहीँ त उनीहरूको अवस्था देखेर रुन मन लाग्छ।’

तर उनलाई यत्तिका अनाथ बालबालिकालाई हेरचाह गर्दा र उनीहरूलाई असल नागिरक बनाउन प्रयास गर्दा निकै सन्तुष्टि प्राप्त भएको छ रे! 

सहयोगकै भरमा बालगृह

यो बालगृहको अहिलेसम्म आफ्नो दिगो आयस्रोत केही पनि नभएको मीना बताउँछिन्। बालगृह अहिलेसम्म दाताहरूको सहयोगमा चलिरहेको छ। उनी भन्छिन्, ‘हामीसँग अहिलेसम्म दिगो आयस्रोत केही छैन, अर्काको सहयोगकै भरमा चल्नुपर्ने अवस्था छ।’ दाताहरूले पनि कहिलेसम्म सहयोग गर्लान् भन्ने लागेको छ उनलाई। 

पहिला पहिला प्रत्येक घरमा वर्षमा एक पटक धान माग्न गएर बालगृह चलाउनुपरेको उनले बताइन्। ‘पहिला त लाजै पचाएर माग्न जानुपर्थ्यो, अहिलेचाहिँ केही दाताहरूले दान गर्नुभएको छ’, उनी भन्छिन्, ‘खानलाई चाहिँ पुगेको छ।’

उनले एनआईसी एसिया बैंकले महिनामा १७ हजार रुपैयाँ बराबरको आवश्यक सामग्री उपलब्ध गराउँदै आएको बताइन्। भवन निर्माणदेखि हालसम्म सहयोगकै भरमा बालगृह चलेको उनले बताइन्। उनले भनिन्, ‘भवन निर्माण गर्दा पनि हामीले पुराण लगाएर सहयोग जुटाएर निर्माण गर्न सुरु गरेका थियौँ, पछि विभिन्न दाताहरूले एक विगाह क्षेत्रफलमा तीनवटा भवन निर्माण गरिदिनुभएको छ।’ 

उक्त १४ कोठे तीनवटा भवन पर्याप्त नभएको उनले बताइन्। यस्तै भवनमा दुःख सुख बस्नुपरेको उनको भनाइ छ। यस्तै, बालबालिकाका लागि लुगा कपडासमेत मागेकै भरमा चलेको उनी बताउँछिन्। सहयोग गर्न आउनेलाई यस्तो आवश्यकता छ भनेपछि त्यही ल्याइदिने गरेको मीना बताउँछिन्।

विभेदरहित बालगृह

समाजमा जातीय विभेद कायम रहिरहेका बेला यो बालगृहमा भने विभेद छैन। यहाँ रहेका सबै जातजातिका बालबालिकाले आफूहरू एक भएको महसुस गर्न पाएका छन्। मीना भन्छिन्, ‘यहाँ विभेद छैन, हामीले यहाँ रहेका बालबालिकालाई उनीहरूको परिवारको विषयमा र जातको विषयमा भरसक जानकारी दिने गरेका छैनौँ।’ 

उनले बाहिरबाट आउने मान्छेहरूलाई समेत बालबालिकाको थर सोध्न निषेध गरिएको बताइन्।

अनाथ बालबालिकालाई नगरिकतामा सनाखतसमेत बालगृहकै

बालगृहमा बस्ने अनाथ बालबालिकाको नागरिकतासमेत बालगृहले नै बनाइदिँदै आएको छ। यहाँ बस्ने प्रत्येक बालबालिकाको जन्मदर्ता उर्लाबारी नगरपालिकाबाट लिइने र नागरिकतासमेत बनाउन बाबुले सनाखत गर्ने ठाउँमा बालगृहले गर्ने मीना बताउँछिन्। उनी भन्छिन्, ‘उनीहरूका बाबुआमा कस्तो अवस्थामा छन् भन्ने पनि थाहा छैन। त्यसकारण हामी नै नागरिकतासमेत बनाइदिन्छौँ।’ बालबालिकाको नाम र थर उनीहरूकै हुने, सनाखतचाहिँ नमुना बालगृहले गर्ने गरेको उनी बताउँछिन्। 

यसअघि दुई जनाले नागरिकता लिईसकेको र अब तत्काल छ जानाले लिने उनले बताइन्।

जन्मदिन मनाउन आउनेले दिन्छन् धेरै सहयोग

पछिल्लो समय बालगृहमा जन्मदिन र चाड पर्व मनाउन आउनेको संख्या बढ्दै गएको उनी बताउँछिन्। महिनामा तीन जनासम्मले जन्मदिन मनाउन यहाँ आउने गरेका उनले बताइन्। यहाँ आउनेहरूले आफूले सक्ने सहयोग गर्दै आएका र सोही सहयोगले धेरै धानेको मीना बताउँछिन्। जन्मदिन मनाउन आउनेहरू धेरैजसो पश्चिमी झापाका रहेको उनले बताइन्।

बालबालिकामा प्रतिभा छ, बाहिर ल्याउन खर्च छैन

यहाँ रहेका धेरैजसो बालबालिकामा आ–आफ्नै प्रतिभा छ। तर उनीहरूको प्रतिभालाई प्रशिक्षणको अवश्यकता रहेको मीनाको भनाइ छ। यहाँ रहेका बालबालिका कोही गाउन सक्छन्, कोही राम्रो नाच्न सक्छन्, कोही राम्रो चित्र बनाउँछन्। कोही राम्रो फुटबल खेल्न सक्छन्। 

मीना भन्छिन्, ‘सबै नानीहरूमा प्रतिभा छ, तर उनीहरूलाई प्रशिक्षणको खाँचो छ, प्रशिक्षण दिनका लागि हामीसँग पैसा छैन।’ कसैले उनीहरूका लागि एक जना प्रशिक्षकको सहयोग गरे पनि धेरै हदसम्म सहयोग मिल्ने मीनाले बताइन्।

बालगृह सञ्चालनमा आफूहरूसँग दिगो आयस्रोत नभएकाले उनले सबैसँग सहयोगको याचना गरिन्। उनले भनिन्, ‘हामी सबैलाई सहयोग गर्न आग्रह गर्छौं, यी बालबालिलाको सुनौलो भविष्यका लागि।’

उनले बालगृहमा जस्तो पनि सहयोग गर्न सकिने बताइन्। ‘कसैले बालगृह सञ्चालनका लागि कोष नै स्थापना गरिदिए हामीलाई केही सहज हुने थियो’, मीनाने भनिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.