|

पर्वत : पर्यटकीय जिल्लाको रुपमा परिचित हुन थालेको पहाडी जिल्ला म्याग्दीमा पर्यटन आवागमनमा भारी मात्रामा वृद्धि भएको छ। म्याग्दीका पर्यटकीय स्थलहरुको प्रचारप्रसार हुन थालेपछि बाह्य मुलुकबाट जिल्लाका विभिन्न पर्यटकीय स्थलहरुमा आउने पर्यटकहरुको संख्यामा भारी वृद्धि भएको हो। आर्थिक वर्ष ०७३/७४ मा ७० हजार बाह्य पर्यटकले जिल्लाका विभिन्न पर्यटकीयस्थलको भ्रमण गरेका छन्। तर, आर्थिक वर्ष ०७२/७३ मा भने कुल ४४ हजार बाह्य पर्यटक म्याग्दीमा भित्रिएको तथ्यांक छ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्यांकअनुसार ०७३ को साउनदेखि २०७४ असारसम्म ६९ हजार ८ सय ३७ जनाले जिल्लाको भ्रमण गरेका थिए। आव ०७२÷७३ मा ४३ हजार ६ सय ३२ पर्यटकले भ्रमण गरेका थिए। जिल्लामा भित्रिने पर्यटकहरुको तथ्यांक घोडेपानी पर्यटक चौकी, बेनी, भुरुङ तातोपानी र दरवाङस्थित प्रहरी चौकीले राख्दै आएका छन्।

मुस्ताङको प्रवेशद्वारको रूपमा रहेको म्याग्दीमा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, घोडेपानी, पुनहिल, खोप्रा, अन्नपूर्ण धौलागिरि, धौलागिरि सेञ्चुरी, धौलागिरि चक्रिय, धौलागिरि आइसफल, टोड्के, रूपसे झरना, अन्ध गल्छी, गलेश्वर, बेनी बजार लगायतका ठाउँहरुको भ्रमणका लागि पर्यटक आउने गरेका छन्।

घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष जुनबहादुर पुनका अनुसार भूकम्प र नाकाबन्दीका कारण थलिएको पर्यटन व्यवसाय पूर्ण रुपमा पुरानै लयमा फर्किसकेको छ। म्याग्दीका पर्यटकीय क्षेत्रहरुमा अमेरिका, बेलायत, जर्मन, अस्ट्रेलिया, भारत, दक्षिण कोरिया, चीन, मलेसिया, थाइल्यान्डलगायत देशहरुका नागरिक भ्रमणमा आउने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.