|

विराटनगर : विराटनगरस्थित केशलिया खोलामा पौडी खेल्न गएका एक बालक डुबेर बेपत्ता भएका छन्। विराटनगरको पश्चिमी सीमाना भएर बग्ने केशलिया खोलामा पौडी खेल्न गएका विराटनगर–१२ बखरीका १५ वर्षीय बालक सञ्जिव राई बेपत्ता भएका हुन्।

चारजना साथीसँग उक्त खोलामा पौडी खेल्न गएका राईलाई खोलाको भेलले बगाएको बालकसँगै पौडी खेल्न गएका अन्य बालकहरूले जानकारी दिएका छन्। राईसँगै पौडी खेल्न गएका बालक राजेश कामतले आफूले हेर्दाहेर्दै साथी डुबेको जानकारी दिए।

विराटनगरकै सगरमाथा बोर्डिङ स्कुलमा कक्षा १० मा अध्यनरत बालक मंगलबार दिउँसो १ बजेतिर अन्य साथीहरूसँगै खोलामा हाम्फालेको केही समयमै डुबेर बेपत्ता भएका थिए।

आफ्ना साथी डुबेको जानकारी दिएपछि खोला छेउमै रहेका माझी र स्थानीयले जाल हालेर खोजी गरिरहे पनि फेला पर्न सकेका छैनन्। घटनास्थलमा पुगेको प्रहरीले समेत खोजी कार्य जारी राखेको छ। बेपत्ता बालकको लुगा र चप्पल खोला किनारमै भेटिएको छ। उक्त खोलामा बर्सेनी बालकहरू डुब्ने गरे पनि सरोकारवाला निकायले चेतावनीमूलक चिन्ह र घेराबेरा नगरेकोमा स्थानीयले असन्तुष्टि जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.