क्षमताभन्दा बढी कैदीबन्दीका कारण बढ्यो समस्या

|

  • रमेश रावल-

कालीकोटः कालीकोट जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदी बन्दी रहेका कारण अनेक समस्या परेको कैदीबन्दीले गुनासो गरेका छन्। 

१० जना महिला र २५ जना पुरुष क्षमता रहेको कारागारमा चार जना महिला र ५४ जना पुरुष कैदीबन्दी रहेका कारण कारागारमा सुत्नेदेखि खाने बस्नेसम्मका समस्या रहेका उनीहरूको भनाइ छ।

आमाले गरिन् अपराध, छोरी जेलमा
जिल्लाको नरहरिनाथ गाउँपालिका– ८ की मिमसरा विष्टले गत वर्ष धारिलो हतियार प्रयोग गरी श्रीमानको हत्या गरिन्। श्रीमानको हत्याको अपराधमा जेलमा परेकी विष्टको साथमा दुई वर्षकी छोरी सीमा थिइन्। सीमा अहिले तीन वर्षकी भइन्। सीमाकी आमाले गरेको अपराधका कारण नाबालक छोरी पनि एक वर्षदेखि जेलमा नै छन्।

आमाले गरेको अपराधमा नाबालक छोरी जेलमा बस्नुपरेका कारण छोरीमा मानसिक रूपमा असर पर्ने हुँदा उनलाई बाहिर ल्याउन कुनै संस्थाले जेलबाट उद्धार गर्न पहल गरिदिन धेरैलाई आग्रह गरेको निमित्त जेलर मोहनप्रसाद शर्माले बताए। ‘बालिकालाई जेलबाट उद्धारको आवश्यकता छ’, उनले भने, ‘ बालिकाको उद्धारका लागि धेरै ठाउँमा पहल गरे पनि संभव भएन।’

नाबालक जेलमा रहँदा बालिकाको पढाइलेखाइमा समेत असर परेका कारण आफूले पहल गरेर कुनै संघसंस्थामार्फत् पढाइको व्यवस्था मिलाइदिने सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए। ‘आमाले गरेको अपराधमा नाबालिका जेलमा छन्’, उनले भने, ‘बालिकाको पढाइलेखाइलगायतका क्षेत्रका सहयोगका पहल गर्नेछु।’

बस्ने घर छैन, पाल हालेर सुत्नुपर्छ 
कारागारमा क्षमताभन्दा बढी पुरुष कैदीबन्दी भएका कारणले खाली चौरमा पाल टाँगेर सुत्नुपरेको छ।

क्षमताभन्दा बढी कैदीबन्दी रहेका कारण खानबस्न, सुत्नदेखि बाथरुममा शौचालयको समेत समस्या भएको कैदी भीमबहादुर सार्कीले बताए। ‘ठाउँ साँघुरो छ। खानेबस्नेर सुत्नेको समेत समस्या छ’, उनले भने, ‘बस्ने घरको कमी छ।’

पढ्न, लेख्न र मनोरञ्जन गर्नसमेत भएन
कारागार सुधारगृहका रूपमा रहेको भए पनि ठाउँ अभावका कारण लेखपढ, खेलकुद, मनोरञ्जनलगायतका काम गर्न कैदीबन्दीले नपाएको गुनासो गरेका छन्। खेलकुद र मनोरञ्जनका सामग्रीको पनि अभाव रहेको कैदीबन्दीले बताएका छन्।

लेख्ने, पढ्ने, मनोरञ्जनका साधन नभएकाले त्यसको व्यवस्था मिलाउनुपर्ने कैदीबन्दी तिलक रानाले बताए। ‘जेललाई सुधारगृह भनिन्छ’, उनले भने, ‘यहाँ हामीले कुनै पनि खेलकुद, मनोरञ्जन गर्न र पढ्न, लेख्नसमेत पाएका छैनौँ।’

सीपमूलक तालिम चाहियो : कैदीबन्दी
कारागारको जीवनपछि भविष्यमा सुरक्षित जीवन जिउन कारागारमा सीपमूलक तालिमको आवश्यकता रहेको कैदीबन्दीले स्थानीय जनप्रतिनिधिहरूसँग माग गरेका छन्। 

कारागारमा कैदीबन्दीहरूलाई भेट्न पुगेका सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीसँग आफूहरूलाई जेलमा बसेर नै सीपमूलक तालिमको व्यवस्था मिलाइदिन आग्रह गरेका हुन्।

जेलमा खाली बसिरहनुपरेको र विभिन्न संघसंस्थाहरूले आफूहरूलाई जेलमा रहँदा सीपमूलक तालिमको आवश्यकता रहेकोले त्यसका लागि पहल गरिदिन कैदीबन्दी मिमसरा विष्टले आग्रह गरिन्। ‘जेलमा खाली बस्नुपरेको छ’, उनले भनिन्, ‘हामीलाई जेलमा बस्दा र यहाँ छुटेर गएमा बाँच्नका लागि सीपमूलक तालिमको आवश्यकता छ।’

जेलमा रहेका कैदीबन्दीहरूका घरमा रहेका छोराछोरीको पनि पढाइलेखाइमा समस्या भएका कारण छोराछोरीको पढाइका लागि कतै पहल गरिदिन पनि कैदीबन्दीले आग्रह गरे। 

कैदीबन्दीलाई खेलकुद सामग्री
कैदीबन्दीहरूलाई सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष शाहीले छ हजार रुपैयाँ बराबरको खेलकुद सामग्री हस्तारण गरेका छन्। हस्तारण गरिएका सामग्रीमा भलिबल, चेस, लुँडो, टेबुल टेनिसलगायतका सामग्री रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.