|

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ का अध्यक्षले चुनावी वाचा पूरा गर्न थालेका छन्। भोट माग्दा सामाजिक सुरक्षा भत्ता घरघरमै पुर्‍याउने वाचा गरेका भुवनराज भट्टले वडा अध्यक्षमा निर्वाचित भएपछि चुनावी वाचा पूरा गरेका हुन्।

वडा अध्यक्ष भट्ट सामाजिक सुरक्षा भत्ता बोकेर घरमै पुगेपछि स्थानीयहरु खुसी भएका छन्। ‘पहिला सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि सकी नसकी गुरुखोलामा रहेको गाविस कार्यालयमा पुग्नुपथ्र्यो,’ श्रीखण्डकी लक्ष्मी भट्टले भनिन्, ‘अध्यक्षज्यूले चुनावमा भनेजस्तै गर्नुभयो।’

दशरथचन्द नगरपालिका वडा नं १ कै दुरा भाट पनि घरमै सामाजिक सुरक्षा भत्ता पाउँदा निकै खुसी छिन्। खुट्टाको अपांगता भएकी भाटलाई गाविससम्म पुगेर भत्ता लिन निकै सकस थियो। तर, अहिले वडा अध्यक्षले घरमै आएर सामाजिक सुरक्षा भत्ता दिएपछि भाट खुसी छिन्। ‘भत्ता बुझ्न सचिवलाई खोज्न आपत हुन्थ्यो, उनले भनिन् अब मलाई त निकै सजिलो हुने भो।’

नगरपालिका वडा नं १ को कार्यालयले घरमै गएर सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेपछि जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरु निकै खुसी छन्। ‘लट्ठी टेकेर सामाजिक सुरक्षा भत्ता बुझ्न भौतारिनुपर्ने दिन गएजस्तो लाग्यो,’ स्थानीय गौरे लुहारले भने, ‘हामी दलितको दैलोमा समेत पहिला कोही टेक्दैनथे तर, अहिले वडा अध्यक्ष कर्मचारी आफंै गाउँमा आएर सामाजिक सुरक्षाभत्ता वितरण गरे।’

दशरथचन्द नगरपालिका वडा नं १ को कार्यालयले साविकको गुरुखोला गाविसका ९ ओटा टोलमा गएर सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेको वडा नं १ का अध्यक्ष भुवनराज भट्टले बताए। ‘हामीले वडाको पहिलो बैठकबाट घरमै गएर सामाजिक सुरक्षाभत्ता वितरण गर्ने निर्णय गरेका हौं,’ उनले भने, निर्णयलाई कार्यान्वयन गर्न हामी टोलटोलमै गएर सामाजिक सुरक्षाभत्ता वितरण गरिरहेका छौं।’

सामाजिक सुरक्षाभत्ता पाउने जेष्ठ नागरिक र अपांगता भएका नागरिकलाई वडा कार्यालय सम्म पुग्न कठिन भएकाले घरमै गएर सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेको वडा अध्यक्ष भट्टको भनाइ छ।

 सामाजिक सुरक्षाभत्ता वितरणसँगै निर्वाचन जितेपछि गाउँलेसँग भेटघाट पनि गरिरहेको उनले बताए। वडाभरीका सामाजिक सुरक्षात्ता पाउने नागरिकको सूचीसहित गाउँमै सामाजिक सुरक्षाभत्ता प्रदान गरिरहेको दशरथचन्द नगरपालिका वडा नं १ का वडा सचिव माधवप्रसाद भट्टले बताए।

चुनावको वेला अन्य स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले पनि सामाजिक सुरक्षा भत्ता घरघरमा पुर्‍याउने प्रतिबद्धता जनाएका थिए। तर चुनावी बाचा सबैभन्दा छिटो पूरा गर्न भट्ट सफल भएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.