पहिलो म्यासेजः 'मिस्टर राजा...हजुरको जय होस्'

|

चितवन : भारतीय गुप्तचर संस्था ‘रअ’ को नेपाल प्रतिनिधि हुँ भन्दै भनी चितवनका उद्योगपतिलाई धम्क्याएर ठूलो रकम माग गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका ४ जनाको गिरोहलाई बुधबार जिल्ला प्रहरी कार्यालय चितवनमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार मुख्य योजनाकार मानिएका एकजना भने भगौडा सशस्त्र प्रहरीका जवान हुन्। अन्य तीनजना भने उनका सहयोगी रहेको अनुसन्धानमा खुलेको थापाले जानकारी दिए।

उनीहरुलाई साउन ९ गते सोमबार राजधानीको बसपार्क नजिकै रहेको सिस्नेरी गेष्ट हाउसबाट पक्राउ गरिएको थापाले जानकारी दिए।

यसरी पक्राउ पर्नेमा धादिङ ज्वालामुखि गाउँपालिका वडा नम्बर २ बस्ने ३० वर्षका ईश्वर बस्नेत, सोही ठाउँका २२ वर्षीय रोशन बस्नेत र २० वर्षीय मनोज श्रेष्ठ तथा सोही गाउँपालिका वडा नम्बर १ का २२ वर्षीय रामकृष्ण श्रेष्ठ रहेका छन्।

उनीहरू मध्य मुख्य योजनाकार रहेका ईश्वर बस्नेत भने २०६४ सालदेखि २०६८ सालमा सशस्त्र प्रहरी बल सानो गौचरण काठमाडौमा सशस्त्र प्रहरी जवानमा कार्यरत थिए। त्यसपछि छाडेका उनी गाउँमा ठेक्कापट्टामा काम गर्दै आएको प्रहरीले जनाएको छ।

प्रहरीको मध्य क्षेत्रीय प्रहरी अनुसन्धान, महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौं, जिल्ला प्रहरी कार्यालय चितवन र केन्द्रीय प्रहरी अनुसन्धान व्यूरोको विशेष टोलीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो।

उनीहरुले चितवनमा कार्टुन र कागज उत्पादन गर्ने उक्त उद्योगका मालिकलाई ज्यान लिनेसम्मको धम्की दिई ५० लाख रुपैयाँसम्मको रकम माग गरेको प्रहरीले पत्रकार माझ जानकारी दिएको छ। उद्योगपतिको नाम भने खुलाइएको छैन।

प्रहरीको अनुसन्धान टोलीले दिएको जानकारी अनुसार १५ दिनदेखि उनीहरुले सो उद्योगमा आई अनुसन्धान गरेर बस्तु स्थिति बुझेका थिए। त्यसपछि साउन साउन ६ बाट एसएसमएस हालेर धम्की दिँदै लाखौं माग गरेका थिए।

‘१५ दिन अघि सेक्यूरिटीमा काम खोजेका थिए, त्यही बहानामा उनीहरुले सबै विवरण संकलन गरे, साउन ६ गते शुक्रबारबाट उनीहरू रकम माग गर्न लागेका पाइयो, अनुसन्धान विवरणबारे प्रहरी प्रमुख थापाले भने, ’तीन दिनको लामो प्रयासपछि भने उनीहरुलाई आइतबार ४ बजे पक्राउ गर्न सफल भएको उनको भनाई छ।

सुरुमा मेघौली सौराहामा बसेर उनीहरुले एसएमएस गरी ५० लाखको पैसा मागेका थिए। नत्र मार्ने सम्मको धक्की दिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका चारैजनालाई मुलूकी ऐन अपहरण तथा शरीर बन्धक उद्योग महल र आपराधिक लाभ लिन खोजेको (संगठित अपराध निवारण ऐन) २०७० अन्तर्गतको मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

यसरी भएको थियो घटना

१५ दिन अघि सेक्यूरिटी गार्डका लागि काम चाहियो भन्दै चितवनको टाँडी क्षेत्रमा भएको एउटा कागज तथा कार्टुन फ्याक्ट्रीमा आएका थिए केही युवा। उनीहरूले सोही बहानामा नम्बर संकलन देखि उद्योगको अवस्थाबारे जानकारी दिए। स्थानीयबासीहरूसँग पनि जानकारी लिएका थिए।

दाजु पूर्व लडाकु भएका बेला धादिङका ईश्वर बस्नेत टाडी क्षेत्र राम्रै चिनजानका मान्छे हुन्। उनी र रामकृष्ण श्रेष्ठ पहिलो 'अनुसन्धान' मा आएका थिए उद्योगमा।

धादिङ पुगेर अर्का मनोज श्रेष्ठ र रोशन बस्नेतसँग व्यापारी खोजी फोन गरेर फिरौती माग्ने योजना सुनाएका थिए। सोही अनुसार साउन ४ गते सौराहा आएर उद्योगपतिको बारेमा थप विवरण लिएका थिए। साउन ६ गतेबाट उनीहरूले फोन र एसएमएस सुरु गरको थिए।

ज्यान मार्ने धम्की सहित छोरा र छोरी पढ्ने स्कुल समेतको पहिचान गरी अपहरणको धम्की समेत दिएको अनुसन्धानले देखाएको प्रहरी उपरीक्षक दीपक थापा बताउँछन्। उनीहरुले एसएमएसमा तीन वटा सिमको प्रयोग गरेका थिए। मनोज र रोशन साउन ७ गते राति सौराहा चोकमा साथी बस्ने होटलमा आएका थिए।

९ गते उनी हेटौंडा फर्पिंग हुँदै मोटरसाइकलमा काठमाडौं गएका थिए। मुख्य योजनाकार ईश्वरले चितवनमा खतराको संकेत पाएपछि उनीहरू हतारमा काठमाडौं फर्किएर गएका थिए।

काठमाडौंको सिस्नेरी होटलमा पुगेर उनीहरुले कोही चिनेको मान्छे भए उसको खातामा, नभए आइएमइ मार्फत पैसा मगाउने योजना बुनेका थिए।

'तँलाई मार्न २० लाखको सुपारी लिइसकेको छु, ५० लाख चाहियो नत्र जे पनि हुन्छ' भन्दै पीडितलाई उनीहरूले धम्की दिएको प्रहरी उपरीक्षक थापाले बताए।

एक दुई लाखसम्म दिन व्यवसायी तयार भएका थिए। पहिलो र दोस्रो एसएमएस आउँदा समेत उनीहरूलाई प्रहरीलाई खबर गरेनन्। त्यसपछिमात्र उनीहरूले प्रहरीलाई जानकारी दिए।  उनीहरूले सुरुमा सम्मानित ढंगले एसएमएस गरेका थिए। 'मिस्टर राजा' सम्बोधन गरेर अन्तिममा 'हजुरको जय होस्' भनी एसएमएसमा उल्लेख छ।

पछि उनीहरूले धम्कीका एसएमएस पठाएका थिए। अन्तिम एसएमएसमा भनिएको छ- 'तँलाई रेस्पेक्ट गरेको हेपिस्। अब हामी एक्सनमा जान्छौं। कतिदिनसम्म सुरक्षा गार्ड राख्लास्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • यस्तालाई हात कातेर 20 बर्स जेल लगार छोड्नु पर्छ ।