|

सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)ले विश्वविद्यालय अनुदान आयोगको निर्देशन विपरित विभिन्‍न निजी क्याम्पसलाई सम्बन्धन दिन थालेको भन्दै विद्यार्थीहरुले विरोध गरेका छन्। 

उनीरुले विद्यार्थी संगठनको विरोध र आयोगको निर्देशनका विरुद्ध पनि नियम मिचेर सम्बन्धन प्रक्रिया अगाडि बढाएको भन्दै विश्वविद्यालय प्रशासनको विरोध  गरे। २०६७ सालमा स्थापना भएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले ६ नम्बर प्रदेश भित्रका निजी क्याम्पसलाई सम्बन्धन दिने तयारी गरेदेखि नै असन्तुष्ट बनेर उक्त निर्णय फिर्ताको माग गर्दै आएका विद्यार्थीहरुले बुधबार सडकमै उत्रिएर विरोध गरे।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका इन्जिनियरिङ संकायका विद्यार्थीहरुले बिहीबार विरोध प्रर्दशन गरेका हुन्। पटक- पटक विश्वविद्यालयमा यस्ता माग राख्दै प्रशासनमा तालाबन्दी गरे पनि विश्वविद्यालयले विद्यार्थीको मागलाई ध्यान नदिई बेवास्ता गरेको उनीहरुको आरोप छ।

विरोध सभामा विश्वविद्यालयका विद्यार्थी न्युटन वलीले विश्वविद्यालयको शिक्षा गुणस्तरीय हुनुपर्ने बताए। यस्तै अर्का विद्यार्थी मिलन विसीले विश्वविद्यालयका भिसी र रजिष्टारले आफ्नो स्वार्थका लागि सम्बन्धन दिन लागेको आरोप लगाए। 

हरेक वर्ष वृद्धि हुने १० प्रतिशत शुल्कलाई घटाउनु पर्ने, सैदान्तिक भन्दा प्रयोगात्मक शिक्षा लागु गर्नुपर्ने, निजी सम्बन्धन खारेज गर्नुपर्ने लगायतका माग विद्यार्थीहरुको छ। 

उनीहरुले केन्द्रीय क्याम्पसलाई व्यवस्थित नबनाइ  निजी क्याम्पसहरुलाई सम्बन्धन दिनु सरासर व्यापारीकरण भएको दाबी गरे। नयाँ–नयाँ निजी कलेजलाई सम्बन्धन स्वीकृति दिनु गलत रहेको विरोध सभामा सहभागि विधार्थी सुरेन्द्र महतले बताएका छन्। 

विश्वविद्यालय अनुदान आयोगले गत मंसिरमा सबै विश्वविद्यालयलाई तत्काल सम्बन्धन प्रक्रिया रोक्न निर्देशन दिएको थियो। तर उक्त निर्देशन पालना नभएपछि असार १ गते पुन पत्राचार गर्दै विश्वविद्यालयलाई आफ्नो भौगोलिक क्षेत्रभन्दा बाहिर गई सम्बन्धन नदिन तथा आंगिक क्याम्पसमा कार्यक्रम सञ्चालन नहुँदै कुनै पनि क्याम्पसलाई सम्बन्धन नदिन आयोगले ध्यानाकर्षण गराएको थियो। 

यता विश्वविद्यालय प्रशासनले भने अनुदान आयोगले आफ्नो क्षेत्राधिकार बाहिर गएर निर्देशन दिएको भन्दै सम्बन्धन प्रक्रिया नरोकिने बताएको छ। 
कुनै पनि विश्वविद्यालय स्वायत्त हुने भन्दै विश्वविद्यालयको सिनेटले गरेका निर्णयका विरुद्ध अनुदान आयोग बोल्न नमिल्ने प्रशासनको तर्क छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.