|

बैतडी : चरिचरनको राम्रो वतावरण भएको ७ नम्बर प्रदेशको बैतडी जिल्लामा बाख्रापालन व्यवसायतर्फ किसानहरु आकर्षित हुन थालेका छन्। थोरै लगानी गरेर धेरै फाइदा हुने भएपछि किसानहरु बाख्रापालनतर्फ आकर्षित हुन थालेका छन्।

बाख्राका लागि चरन क्षेत्रको राम्रो सम्भावना रहेका कारण यो व्यवसाय छिटो फस्टाउँदै गएको पशुसेवा कार्यालय पाटन बैतडीले जनाएको छ। अन्य व्यवसायबाट भन्दा यसबाट राम्रो फाइदा पुग्ने भएपछि किसानहरु यस व्यवसायतर्फ आकर्षित हुन थालेको पशु विकास अधिकृत देवीदत्त भट्टले बताए। राम्रो चरिचरन क्षेत्र भएकाले जिल्लामा बाख्रापालनको राम्रो सम्भावना छ,’ उनले भने, कामका लागि भारतकै बाटो राज्ने बैतडीका स्थानीय अहिले व्यावसायिक हिसाबले बाख्रापालनमा लागेका छन्।’

जिल्लामा २ लाख ५० हजार भन्दा बढी बाख्रा रहेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ। जिल्लामा खसीको मासुको लागि बहिरबाट आयात गर्नुपर्ने अवस्था नरहेको समेत पशु कार्यालयले जनाएको छ। पूजाआजाका लागि पनि जिल्लामा खसीबोकाको माग बढेको छ।

सयभन्दा बढी बाख्रापालन समूह

जिल्लामा पछिल्लो समयमा व्यावसायिक रुपमा बाख्रापालन गर्ने किसानको संख्या बढ्दै गएको छ। निजी फर्म दर्ता गराएर बाख्रापालनमा युवा किसानसमेत लागेका छन् भने सयभन्दा बढी बाख्रापालन समूह रहेका जिल्ला पशुसेवा कार्यालयको तथ्यांक छ।

जिल्लाभित्र र जिल्ला बाहिर मासुको लागि खसी, बोकाको माग अत्याधिक खपत हुने भएपछि जिल्लाका किसानले बाख्रापालन व्यवसाय बढाउदै लगेको पुर्चौडी वडानम्बर ९ का वीरेन्द्र बोहराले बताए। कतिपय किसानले व्यावसायिक रुपमा बाख्रापालन फर्म नै खोलेका छन्।

लगानीअनुसार वर्षमा दुईदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी हुने गरेको सुर्नया गाउपालिका ६ मा जीवनज्योति कृषक समूहकी अध्यक्ष तारा अवस्थीले बताइन्। उक्त समूहमा ३० जना किसानले सामूहिक बाख्रापालन गरेका छन्।

पशु सेवा कार्यालयले बाख्रापालक किसानहरुलाई औषधी, विभिन्न समयमा विभिन्न जातको घाँसको बिउ तथा प्राविधिक सहयोग गर्दै आएको छ। विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहयोगमा बाख्रापालनका लागि आवश्यक सीप र अनुदान पाएपछि बाख्रपालन व्यवसायीको संख्या पनि बढ्दै गएको छ।

नश्ल सुधार अभियान तीव्र

बाख्रापालन गरी स्वरोजगारमा वृृद्धि गर्न विभिन्न सरकारी निकायसँग गैरसरकारी संघसंस्थाहरुले अहिले बाख्राको नश्ल सुधारमा जोड दिएका छन्। जिल्ला पशु सेवा कार्यालय पाटन बैतडीले किसानहरुलाई निःशुल्क रुपमा उन्नत जातको बोका वितरण गर्दै आएका छ।

 जिल्लाका १० ओटै स्थानीय तहमा कम्तीमा एउटा समूहलाई पर्ने गरेर बोका वितरण गरिएको सूचना अधिकारी भट्टले बताए। यस्तै गत आर्थिक बर्षभरी ६० ओटा उन्नत जातका बाख्रा वितरण गरिएको पशु विकास अधिकृत देवीदत्त भट्टले बताए। व्यावसायिक बाखा्रपालनमा लागेका र सामूह गठन गरेर बाख्रापालनमा लागेका किसानहरुलाई उन्नत जातको बोका वितरण गरिँदै आएको छ।

‘कृषि तथा खाद्य सुरक्षा कार्यक्रम र कबुलियती वन कार्यक्रम अन्तर्गत १६ ओटा बाख्रापालन समूहलाई जमुनापारी नश्लका १६ बोका दिएका छौं। यस्तै केन्द्रिय भेडाबाख्रा प्रर्वद्धन कार्यालयबाट प्राप्त अनुदान अनुसार १० ओटा व्यवसायिक बाख्रापलनमा लागेका किसानहरुलाई बोका वितरण गरेका छौं।’ जिल्ला पशुसेवा कार्यालयका सूचना अधिकारी शिवराज भट्टले भने।

मासु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ बोका वितरण गरिएको उनले बताए। उनले भने ‘हाम्रो जिल्लामा चरिचरनको हिसाबले बाख्रापालन व्यवसाय फस्टाउन सक्छ। त्यसैले हामीले किसानहरुलाई बाख्रापालन व्यवसायमा आकर्षित गर्नका लागि विभिन्न सहयोग गरिरहेका छौं।’

समूहमा वितरण गरिएका बोकासँगै खोर सुधारका लागि अनुदान पनि दिइएको छ। एक समूहमा १ लाख २० हजारका दरले १६ समूहमा खोर सुधारका लागि अनुदान दिएको जिल्ला पशु सेवा कार्यालयका पशु विकास अधिकृत भट्टले बताए। ‘परम्परागत खोरमा बाख्राहरुमा विभिन्न किसिमका संक्रामक रोग लाग्ने भएकाले हामीले खोर सुधारका लागि पैसा पनि दिएका छौं र केही ठाउँमा तालिम पनि सञ्चालन गरेका छौं।’ उनले भने।

कृषकमा थपियो उत्साह

निःशुल्क रुपमा जिल्ला पशुसेवा कार्यालयबाट बोका पाएपछि व्यवसायिक रुपमा बाख्रापालनमा लागेका किसानहरु पनि खुसी भएका छन्। जिल्लाको दुर्गम सिगास गाउँपालिकामा व्यवसायिक रुपमा बाख्रापालन गरिरहेका किसान रामसिंह धामी उन्नत जातको बोका पाएको निकै खुसी छन्। ‘मैले फर्म नै दर्ता गरेर बाख्रापालन गरिरहेको छु, मसंग ४५ ओट माउ बाख्रा छन्, अब उन्नत जातको बोका पाएको छु,’ उनले भने, ‘मेरो व्यवसायमा सहयोग मिल्ने आशा गरेको छु।’

जिल्लाकै सिगास गाउँपालिका वडा नं ९ चौखाममा रहेको हरियाली बाख्रापालन समूहका अध्यक्ष बीरबहादुर चन्दले पनि उन्नत जातको बोका निशुल्क रुपमा पाएकोमा खुशी भएको बताएका छन्। ‘हामी समूहमा २० जना किसान छौं र कम्तीमा एकजनाले १५ बाख्राका दरले पालेका छौं,’ उनले भने, ‘समूहमा उन्नत जातको बोका पाउँदा हाम्रो व्यवसायमा टेवा पुग्ने विश्वास लिएका छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.