|

काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकैचरणमा गर्नुपर्ने भनी सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरुको भनाइ आइरहेका बेला आइतबार संसदको सुशासन समितिले यस विषयमा छलफल कार्यक्रम आयोजना गर्‍यो।

कार्यक्रममा निम्त्याइएका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन संवैधानिक र व्यवस्थापकीय दृष्टिले एकैपटक गर्न नसकिने धारणा राखे। दुवै निर्वाचन एकैपटक गर्दा संविधानले परिकल्पना गरेको महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न अप्ठेरो पर्न सक्ने उनको भनाइ थियो।

विहान ११ बजे संसदीय समितिमा आफ्नो धारणा राखेका यादवले दिउँसो रिपोर्टस क्लबमा पुग्दा भने आफ्नो धारणा फेरे। उनले एकै चरणमा दुवै निर्वाचन गर्न सकिने प्रतिक्रिया दिए। रिपोर्टस क्लबमा उनले भने 'ईच्छाशक्ति भयो भने केही पनि असम्भव छैन, त्यसैले निर्वाचन आयोग प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा सम्पन्न गराउन तयार र सक्षम छ, त्यसको लागि हामीलाई चाहिने सबै आवश्यक कुराहरु सरकारले उपलब्ध गराउनुपर्छ।’

संसदीय समितिमा के भने यादवले?

प्रमुख निर्वाचन आयुक्त यादवले नेपाल जस्तो मुलुकका मतदाताले चारवटा मतपत्रको प्रयोग एकै पटक कसरी गर्न सक्दछन् भनी प्रश्न पनि गरे।

मतपत्रलगायत निर्वाचन सामग्रीको उत्पादन, ढुवानी, मतदाता शिक्षा, जनशक्तिको बन्दोबस्ती, मतदाता नामावली संकलन, मतदानस्थलको व्यवस्थापन जस्ता कारण पनि एकै पटक दुईवटा निर्वाचन असम्भव रहेको उनको भनाइ थियो। उनको प्रश्न थियो  'दुबै निर्वाचन एकै पटक गर्ने हो भने मतपत्र मात्रै सात करोड छपाइ गर्नुपर्छ। त्यो अहिलेको संरचनामा कसरी सम्भव होला?' 

रिपोर्टस क्लबमा के भने यादवले?

उनले दुवै निर्वाचनएकै चरणमा गर्नु राम्रो कुरा भएको समेत बताए। उनले भने, ‘दुवै निर्वाचन एकै चरणमा गर्नु राम्रो कुरा हो, आयोगको यसमा असहमति छैन, हामी पनि तयार छौं, तर यसको लागि सरकारले हामीलाई समयमै आवश्यक ऐन तथा कानुन, निर्वाचन क्षेत्र निर्धारण आयोगका प्रतिवेदन दिनुपर्छ।’

यादवले आफूहरुले दुई चरणमा नै चुनाव गर्न निर्वाचन कार्यक्रम दिए पनि सरकारले एकै चरणमा गर्ने भनेकाले एक पटक फेरि छलफल गर्ने बताए। ‘हामीले त सरकारलाई पहिल्यै नै दुई चरणमा निर्वाचन गर्ने गरी निर्वाचनसम्बन्धी कार्यक्रमहरु दिइसकेका छौं, अब उहाँहरुले एकै चरणमा गर्नुपर्छ भन्नुहुन्छ भने यसमा हामी तीनै पक्ष सरकार, दल र निर्वाचन आयोगबीच छलफल हुनुपर्छ, तत्काल बृहत छलफल गरेर एउटा निश्कर्षमा पुगौं, हामी सरकारले भने अनुसार एकै पटक निर्वाचन गराउन तयार छौं।’

यादवले स्थानीय तहको मतदान केन्द्रबाट प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गराउन कठिन भएको बताए। ‘अहिलेकै मतदान केन्द्रहरुबाट दुवै निर्वाचन एकै चरणमा गर्न गाह्रो हुन्छ' उनले थपे ‘एउटा मतपत्रबाट प्रदेशको र अर्कोबाट केन्द्रको निर्वाचन गर्नुपर्छ, अन्य विकल्पमा पनि छलफल गर्न सकिन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.