|

सिन्धुली : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विचार पुर्‍याएर काम गर्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन्। स्थानीय तहको निर्वाचनमा सबै नेता कार्यकर्ताहरु दिनरात दौडधुप गरे पनि दौडाईमा सुरताल नमिल्दा निर्वाचन परिणाम सन्तोषजनक आउन नसकेको उनले बताए।

सोमबार धनुषाको जनकपुर जाने क्रममा सिन्धुलीमाढीमा कार्यकर्ताहरुसँग भेटघाटमा उनले भने, “स्थानीय तहको निर्वाचनमा हाम्रो पार्टीको सोचेजस्तो परिणाम आउन सकेन त्यसमा जनताको केही दोष छैन, कमजोरी नेता कार्यकर्ता र पार्टीकै हो। सुर ताल मिलाएर दौडन सकेमा आउँदा दिनमा माओवादी बलियो हुन्छ।'

जनताले माओवादीप्रति विश्वास र अपेक्षा गरे पनि जनतासँग नजोडिदा निर्वाचनमा भोट कांग्रेस र एमालेको पक्षमा गएको प्रचण्डको भनाइ छ। स्थानीय तहको निर्वाचनले संविधान कार्यान्वयलाई अगाडि बढाएको बताउँदै प्रचण्डले स्थानीय तहमा चुनाव कांग्रेस एमालेले जितेपनि काम चाहिँ माओवादीलको गर्नुपर्ने धारणा राखे।

प्रदेश र प्रतिनिधि सभाको चुनाव एकै चरणमा गर्नको लागि राजनीतिक दलहरु सकारात्मक रहेको अध्यक्ष प्रचण्डले दावी गरे। उनले भने,‘ प्रमुख राजनीतिक दल एकै चरणमा प्रदेश र केन्द्रको चुनाव गर्न एकमत छन्। निर्वाचन आयोगले एकै चरणमा केन्द्र र प्रदेशको चुनाव गराउन प्राविधिक कठिनाइ हुने देखाइरहेको छ। एकै चरणमा केन्द्र र प्रदेशको चुनाव गर्न अझैपनि हामी कसरत गरिरहेका छौं।’ केन्द्र र प्रदेशको चुनाव माघ सातभित्रै गरिसक्ने पनि उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.