|

विराटनगर : आपूर्तिमन्त्री शिवकुमार मण्डलले जग्गा खरिद प्रकरणमा दोषि देखिएका जो कोहीलाई कारबाही गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्। विराटनगरमा सोमबार प्रेस सेन्टर मोरङले गरेको बधाइ तथा सम्मान कार्यक्रममा बोल्दै मण्डलले आफूलाई पार्टीका नेता तथा मन्त्रीहरुले सहयोग गरेका कारण खुट्टा नकमाइ अगाडि बढ्ने बताएका हुन्।

‘आयल निगमको डिपोको लागि जग्गा खरिदमा  समस्या देखिएको छ,’ मन्त्री मण्डलले भने, ‘छिट्टै मन्त्रालयको तर्फबाट कुनै स्टेप चाल्ने सोचेको छु।’ लेखा समितिले कारबाहीका लागि निर्देशन दिइसकेको, अर्थसमिति र संसदीय समितिले छानविन गरिरहेका कारण मन्त्रालयले अन्य कुनै छानविन समिति बनाउनु आवश्यक नदेखिएको मण्डलको भनाइ छ।

‘संसदीय समिति र अर्थसमितिले छानविन गरिरहेको छ, लेखा समितिले त किटेरै कारबाही गर्नु भनेको छ,’ मण्डलले भने। चितवन र सर्लाहीको जग्गा एउटै ठेकेदारले जग्गा खरिद गर्नु, स्थानीय मूल्यभन्दा अत्याधिक मूल्यमा जग्गा खरिद गरेको कागज पत्र मिलाउनुले त्यहाँ समस्या छ भन्ने देखिने उनको भनाइ छ।

‘यो विषय लामो र ठूलो तयारीका साथ गरिएको देखिएको छ,’ मण्डलले भने, ‘चितवन र सर्लाहीकोे जग्गा त एउटै ठेकेदारले खरिद गरेको देखिएको छ।’ आफू मर्नदेखि नडराएको मान्छे भएको भन्दै उनले कारबाही गर्नबाट नडराउने बताए।

कालोबजारीविरुद्ध कानुन संशोधनको तयारी

मन्त्री मण्डलले अत्यावश्यक वस्तुको कालोबजारी गर्ने र कृत्रिम अभाव सिर्जना गर्नेलाई कडा कारबाही गर्नका लागि आवश्यक कानुन संशोधनको तयारी भइरहेको समेत बताए। ‘अनुगमन र कारबाहीको विषयमा सरकारी निकायबीचमै देखिने विवाद समाधानका लागि पनि कानुन मिलाउनु पर्नेछ,’ मण्डलले भने, ‘कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेविरुद्ध कडा दण्ड र सजायको व्यवस्था गर्ने गरी कानुन संशोधन हुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.