|

काठमाडौँ: नवगठित राप्रपा प्रजातान्त्रिकले आफूलाई राप्रपाको मूलधार भएको दाबी गर्दै अध्यक्ष कमल थापाको स्वेच्छाचारी प्रवृत्तिका कारण पार्टी फुटाउनुपरेको जनाएको छ। आइतबार १९ सांसद र ७२ जना केन्द्रीय सदस्यसहित दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको राप्रपा प्रजातान्त्रिकले सोमबार काठमाडौँमा कार्यक्रम गरी पार्टी विभाजनको कारण सार्वजनिक गरेको हो।

राप्रपा विभाजन गरी किन बनाउनुपर्‍यो नयाँ दल? नवगठित राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर जबराले पत्रकार सम्मेलनमा दिए ७ कारणः 

१) नेतृत्वले जनताको विश्वास गुमायो

दुई पार्टीलाई एकीकरण गर्नुको उद्देश्य केवल पार्टीलाई आकारमा मात्र ठूलो बनाउनु थिएन। राष्ट्रिय राजनीतिमा अहं र उल्लेखनीय भूमिका निर्वाह गर्दै नयाँ संविधानको कार्यान्वयनबाट पट्यारलाग्दो संक्रमणकालको अन्त्य गरी देशमा राजनीतिक स्थायित्व कायम गर्न राष्ट्रवादी र प्रजातान्त्रिक शक्तिहरूलाई एकत्रित गरेर प्रजातन्त्रलाई सबल एवं सुदृढ तुल्याउने उद्देश्य थियो। तर पार्टीको सञ्चालन एकीकृत पार्टीका नेता, कार्यकर्ता तथा जनताहरूको अपेक्षाअनुरूप भएन। कार्यकर्ता पंक्तिमा निराशा र विचलन देखापर्‍यो। फलस्वरूप स्थानीय तहको निर्वाचनमा पार्टीले अत्यन्त निराशापूर्ण र लज्जाजनक हार बेहोर्नुपर्‍यो। नेतृत्वले निर्वाचनमा देखाउनुपर्ने संयोजनकारी भूमिका निर्वाह गर्न सकेन। ६ प्रदेशमा सम्पन्न स्थानीय निर्वाचनको परिणाम अनपेक्षित र अस्वाभाविक भयो। पार्टी चौथो स्थानबाट तल पर्‍यो।

यस परिघटनाले के देखाउँछ भने वर्तमान पार्टीको नेतृत्वले जनताको विश्वास गुमाइसकेको छ। यदि पार्टी निश्चित लक्ष्य नभएको दिशाहीन अवस्थाबाट गुज्रिरहने हो भने आगामी प्रान्तीय र संसदीय निर्वाचनमा झन् ध्वस्त हुने निश्चितप्राय: छ। तसर्थ पार्टीले राष्ट्रवादी, प्रजातन्त्रवादी मूलधार समातेको ताजा विचारका साथ नयाँ ढंगले अगाडि बढ्नु अनिवार्य भयो। तब मात्र पार्टीले नेपाली राजनीतिक रंगमञ्चमा आफ्नो स्थान सुरक्षित राख्न सक्छ।

२) एकताका अपेक्षा पूरा भएनन्

पार्टीको सञ्चालन पार्टी विधानअनुरूप पूर्णतया समिति प्रणालीबाट संस्थागत र पारदर्शी रूपमा सञ्चालन गर्ने, पारदर्शी रूपमा व्यक्तिगत उत्तरदायित्व र सामूहिक जिम्मेवारीको नीतिका आधारमा सामूहिक नेतृत्वबाट गर्ने, पार्टीका नेता र कार्यकर्तामा यो र त्यो नभनी समान व्यवहार गर्ने र क्षमता तथा योग्यताअनुरूप विभिन्न तहमा जिम्मेवारी दिने, पार्टीलाई योगदान पुर्‍याएको कुरालाई मूल्याङ्कनको आधार बनाउने, पार्टीमा काखा र पाखाको संस्कार, व्यवहार, प्रवृत्ति र दृष्टिकोण अन्त्य गर्दै पार्टीका सबै तहका नेता कार्यकर्तामा पार्टीप्रति अपनत्व र स्वामित्वको भावना कायम हुने वातावरण निर्माण गर्नेजस्ता अनेकौँ काम अपेक्षा गरिएको थियो। ती कुनै बुँदा कार्यान्वयन भएनन्।

३) नेतृत्व व्यक्तिगत स्वार्थमा लिप्त

सरकारमा सहभागिता जस्ता महत्त्वपूर्ण विषयहरूमा निर्णय गर्दा राष्ट्रिय हित र पार्टी हितभन्दा व्यक्तिगत र स्वार्थलाई प्राथमिकता दिने परिपाटी बसालियो।

४) चुनाव चिह्नको विवाद

पार्टी एकीकरणको बेला एकीकृत पार्टीको चुनाव चिह्न हलो रहने अनौपचारिक सहमतिलाई बलपूर्वक लत्याइयो। स्थानीय तहको निर्वाचनमा पार्टी परिचालन हुनै सकेन। उम्मेदवारहरूले पार्टीबाट कुनै टेवा नै पाएनन्। उनीहरूले स्वतन्त्र उम्मेदवार जस्तै चुनाव लड्नुपर्‍यो।

५) मधेस मुद्दालाई सत्तासँग साटियो

एकीकरणको बखत पार्टीले लिएको मधेससम्बन्धी अडानलाई पार्टीले निरन्तरता दिएन। मधेस मुद्दालाई सत्ता स्वार्थसँग गाँसेर प्रस्तुत गरियो। त्यसैले मधेसमा पार्टीको जग बलियो हुन सकेन।

६) निर्देशन समिति गठन भएन

पार्टीलाई विधानसम्मत तरिकाले सामूहिक नेतृत्वको अवधारणाबाट परिचालित गर्न विधानमै निर्देशन समितिको व्यवस्था गरिएको छ। पटक पटक आग्रह गर्दा पनि पार्टीलाई स्वेच्छाचारी ढंगबाट सञ्चालन गर्ने नियतले विधानमा व्यवस्था भएअनुसार निर्देशन समिति गठन गरिएन।

७) नेतृत्व हस्तान्तरणलाई कमजोरी ठानियो

पार्टी एकीकरण हुँदा कुनै एउटा पार्टी अर्को विलय भएको होइन, एकीकरण भएको हो। पार्टी एकताबद्ध ढंगबाट अगाडि बढोस् र एकीकरणको लक्ष्य पूरा होस् भन्ने उद्देश्य राखेर सहज रूपले नेतृत्व हस्तान्तरण भएको थियो। तर सहज नेतृत्व हस्तान्तरणलाई कमजोरीको रूपमा लिएर पार्टीलाई विलय भएको जस्तो गरी स्वेच्छाचारी ढंगबाट सञ्चालन गर्ने धृष्टता गरियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.