गोरखा : उत्तरी गोरखाको दुर्गम धार्चे गाउँपालिकास्थित लापुका बासिन्दा जोखिम मोलेर भीरको बाटो आवतजावत गर्न बाध्य छन्। लापुगाउँबाट लापुबेसी झर्ने बाटो पहिरोले बगाएपछि स्थानीयहरु खेतीपातीका लागि बेसी झर्नसमेत नपाएको धार्चे– ७ लापुका वडाध्यक्ष सूर्यमान गुरुङले जानकारी दिए।
‘यसपटक बर्खामा त बिजोगै भयो,’ वडाध्यक्ष गुरुङले भने, ‘लापुगाउँका करिब ३ सय घरपरविारलाई खेतीपातीका लागि निकै असहज भएको छ, खेत बाँझै छ।’
भीरमा मानिसहरु जोखिम मोलेरै आवतजावत गर्न बाध्य छन्। ‘विकल्पको बाटो छैन, मानिसहरु भीरमै जसोतसो आवतजावत गर्दै आइरहेका छन्,’ वडाध्यक्ष गुरुङले भने, ‘गाउँलेहरु अहिलेका लागि भन्दा पनि आगामी दिनको दिनचर्या र खाद्यन्नको चिन्ताले अताल्लिएका छन्।’
बाटो बनाउनका लागि आफूले जिल्ला समन्वय समिति तथा अन्य विभिन्न निकायसँग आफूले कुराकानी र पहल गरिरहेको उनले बताए।
लापुगाउँ र लापुबेसी ओहोरदोहोर गर्ने बाटो २०७२ को गोरखा भूकम्प गएलगत्तै भत्किन थालेको स्थानीय बताउँछन्। ‘यो बाटो त भूकम्प गएपछि भत्केको हो नि !’ लापुका स्थानीय नरबहादुर गुरुङले भने, ‘अहिले पहिरो गयो, झन जोखिम भयो।
पहिले गाइभैंसी ओहोर दोहोर गराउन मिल्ने बाटोमा अहिले पाइला राख्ने ठाउँ नै नपुग्ने गुरुङले बताए।
तस्बिर सौजन्य : एलिजा गुरुङ
तपाईंको ईमेल गोप्य राखिनेछ ।