|

काठमाडौं : रक्षा मन्त्रालयको नयाँ भवन बन्ने भएको छ। ७२ सालको भूकम्पले रक्षा मन्त्रालय रहेको सिंहदरबारको मुख्य भवन प्रयोग गर्न नमिल्ने गरी क्षति पुगेपछि मन्त्रालय भवनविहीन बनेको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहदरबारको दक्षिण पश्चिममा रहेको नेपाली सेनाको क्याबलरी (घोडा स्याहार केन्द्र) गुल्म रहेको स्थानमा रक्षा मन्त्रालयको नयाँ भवन निर्माणको शिलान्यास गरे।

बेसमेन्ट र कौसीबाहेक ५ तलाको हुने नयाँ भवन ५९४७.१६ वर्ग मिटरमा बन्ने छ । २०७७ असारमा निर्माण सम्पन्न गर्ने गरी डाँफे समानान्तर जेभीले निर्माणको ठेक्का पाएको छ। भवनको लागत १९ करोड ३३ लाख ४ हजार रहेको छ। १०५ वटा कोठा रहने भवन भूकम्प प्रतिरोधी हुनुका साथै अग्नि निरोधक प्रणाली जडान भएको हुनेछ।

शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले भवन निर्माणमा आर्थिक अनुशासनको पालना र तोकिएको समयमा नै निर्माण सम्पन्न गर्न निर्देशन दिए। निर्माण हुने भवन अपाङ्गमैत्री, प्राकृतिक वतानुकुलित र लिफ्टसहितको हुनेछ।

भूकम्पपछि आफ्नो भवन नहुँदा मन्त्रालय सिंहदरबारभित्र रहेको राष्ट्रिय सुरक्षा परिषद्को भवनमा रहेको छ। मन्त्रालयको दैनिक कार्य सञ्चालन हुँदै आए पनि पर्याप्त कोठा र कार्यालय सुविधा नहुँदा काम प्रभावित हुँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.