|

विराटनगरः विराटनगर महानगरपालिकाले बढ्दो ट्राफिक जाम हटाउन वैकल्पिक मार्गको खोजी सुरु गरेको छ। बजारभित्रको व्यस्त ट्राफिक जामलाई हटाउन महानगरले वैकल्पिक सडकहरूको खोजी सुरु गरेको हो। 

विराटनगर क्षेत्रको नहरको बाटोलाई वैकल्पिक मार्गको रूपमा प्रयोग गर्न स्तर उन्नति गर्न सुरु गरिएको महानगरपालिकाले जानकारी दिएको छ। 

विराटनगरवासीले लामो समयदेखि खेप्दै आएको सडकको समस्या र ट्राफिक अस्तव्यस्तता कम गराउन विराटनगर महानगरपालिकाले वैकल्पिक मार्गको खोजी गरी निर्माण कार्य सुरु गरिएको महानगरपालिका प्रमुख भीम पराजुलीले बताए। विराटनगर क्षेत्रमा नहरको बाटोलाई वैकल्पिक मार्गको रूपमा प्रयोग गर्न स्तर उन्नति सुरु गरिएको पनि उनले जानकारी दिए।

उनले वैकल्पिक मार्गको रूपमा प्रयोग गर्न विराटनगर– ४ को करिब चार किलोमिटर नहरको बाटो सम्याउने काम सुरु गरिएको जानकारी दिए। विराटगर रानीदेखि ढाटसम्म नहरको सडकलाई वैकल्पिक मार्गको रूपमा प्रयोग गर्नेगरी काम सुरु गरिएको उनले बताए।

वैकल्पिक सडक निर्माणसँगै सोलार बत्ती राख्ने, ‘मर्निङ वाक’ गर्नेहरू तथा वैकल्पिक बाटो प्रयोग गरी हिँड्नेका लागि विश्रामस्थल बनाउने, नहर सफा राख्ने र छड पर्वका लागि व्यवस्थित रूपमा पूजा गर्ने व्यवस्था मिलाउने उद्देश्यले काम अगाडि बढाइने महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्कीले बताइन्। 

वैकल्पिक मार्ग निर्माणमा विराटनगर महानगरपालिकाले थोरै रकमबाट काम सुरु गरेको भए पनि पछि नगरपरिषदको बैठक बसेपछि त्यसमा रकम थप गरिने कार्यकारी अधिकृत दीपक कोइरालाले बताए। पहिलो चरणमा विराटनगरको एयरपोर्ट मोडबाट नहरको बाटो सम्याउन सुरु गरिएको छ। 

वडा अध्यक्ष देवेन्द्रराज पोखरेलका अनुसार विराटनगर खारजी चोकदेखि जामुनगाछीसम्मको करिब चार किलोमिटर क्षेत्र मंगलबारदेखि डोजरको प्रयोग गरेर सम्याउने काम थालिएको छ। वैकल्पिका मार्ग निर्माणसँगै विराटनगरबासीले खेप्नुपरेको सडक र ट्राफिक जामको समस्या स्वतः कम भएर जाने प्रमुख पराजुलीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.