|

काठमाडौं : पूर्वधार विकासका लागि स्वदेशमै आवश्यक पुँजी उपलब्ध होस् भन्ने उद्देश्यले लामो समयदेखि चर्चामा रहेको पूर्वाधार विकास बैंकको लाइसेन्सका लागि नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि आवेदन खुला गरेको छ। 

राष्ट्र बैंङ्कले बैंङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ मा भएको कानुनी प्रावधानबमोजिम पूर्वाधार विकास बैंकको इजाजतसम्बन्धीनीतिगत व्यवस्था २०७४ को अधिकार प्रयोग गर्दै लाइसेन्स खुला गरेको हो। 

बैंकका अनुसार पूर्वाधार विकास बैंकको रुपमा स्थापना हुने बैंकको न्युनतम चुक्ता पुँजी २० अर्ब रुपैयाँ रहनेछ। पूर्वाधार बैंक खोल्न चाहने व्यक्ति वा संस्थाले यस्तो बैंक पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता गराउनुपर्नेछ। 

विदेशी बैंक तथा वित्तीय संस्थाको संयुक्त लगानी नरहने बैंकक हकमा यस्तो बैंकमा संस्थापक समूहको न्युनतम ५१ प्रतिशत र सर्वसाधारण समूहको न्युनतम ३० प्रतिशत सेयर लगानी हुनुपर्नेछ। सर्वसाधारण समूहलाई तोकिएको उक्त न्युनतम सेयर लगानीबाहेक सर्वसाधारण समूहभित्र नै वर्गीकरण हुने गरी बैंक कर्मचारीलाई शून्य दशमलव दुई प्रतिशतसम्म सेयर छुट्याउन सकिने राष्ट्र बैंकले जनाएको छ। 

विदेशी बैंक तथा वित्तीय संस्थाको संयुक्त लगानी रहने बैंकको हकमा यस्तो विदेशी लगानीकर्ताको न्युनतम २० प्रतिशतदेखि अधिकतम ८५ प्रतिशतसम्म सेयर लगानी हुन सक्नेछ भने सर्वसाधारण समूहको सेयर लगानी १५ प्रतिशत हुनुपर्नेछ। तर २० प्रतिशत वा सो भन्दा बढी ५० प्रतिशतभन्दा कम वैदेशिक सेयर सहभागिता हुने भएमा सर्वसाधारण समूहलाई न्युनतम ३० प्रतिशत सेयर (कर्मचारीलाई छुट्याउने बाहेक) अनिवार्य रुपमा छुट्याउनुपर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.