|

लहान : पछिल्लो चार दिनदेखि परेको अविरल वर्षासँगै शुक्रबार रातभर परेको वर्षाको कारणले सप्तरीको दुई गाउँ डुबानमा परेको छ। वर्षाका कारण जिल्ला सदरमुकाम राजविराज नगरपालिकाका केही वडासहित पूर्वी दक्षिणी भेगमा सयौं घर परिवार डुबानमा परेका छन्।

रातभर परेको भीषण वर्षाले राजविराज नगरपालिका १५ मा पर्ने देउरीभरुवा गाउँ नै जोखिममा परेको छ। राजविराज १ मा पर्ने डुमरी र शिवथान डुबानमा परेको छ। स्थानीय खाडो नदीमा आएको बाढी पश्चिमी तटबन्ध भत्काएर बाढीको पानी गाउँ पस्दा देरीभरुवा गाउँ नै डुबेको छ। शनिबार बिहानदेखि नै जिल्ला प्रहरी कार्यालय सप्तरी र सशस्त्र प्रहरीको टोलीले स्थानीय बृद्ध बृद्धा, बालबालिकासहित ५० जनालाई स्थानीय सामुदायिक भवनमा सारिएको छ।

खाडो नदीमा आएको बाढीले तिलाठी कोइलाडी गाउँपालिका १ र ३ र सखरपुरा गाउँका प्रायः हरेक घरमा करिब चार फिट पानी जमेको छ भने जिता खोलामा आएको बाढीले तिलाठी कोइलाडी गाउँपालिका ४ अन्तर्गत पर्ने चट्टी टोल, रामटोल, मुखिया टोल र मुसहरी टोल पूर्ण रूपमा डुबानमा परेको स्थानीय सन्तोष मुखियाले बताए । तिलाठी कोइलाडी गाउँपालिका ५ को धानुक टोल र बनरझुल्ला टोल निजकै रहेको जिता खोलाको बाँध भत्किंदा आवागमन समेत बन्द भएको छ।

सप्तकोशीमा बढेको पानीको बाहवले हनुमाननगर कंकालिनी नगरपलिका १३ गोबरगाढा डुबानमा परेको छ। गोबरगाढाका करिब पाँच दर्जन परिवारलाई डुङ्गाको व्यवस्था गरी उद्दार गरिरहेको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार अविरल वर्षासँगै स्थानीय खाडो नदीमा आएको पानी गाउँ पस्दा आएको बाढीले हनुमाननगर कंकालिनी नगरपालिका १४ रामपुर मल्हनियाका करिब ३० घर डुबानमा परेको छ। खाडोको बाढीले रामपुर मल्हनियामा करिब ४० बिघा धानखेती समेत डुबानमा परेको प्रहरीले जनाएको छ।

बाँध भत्किएर गाउँ र धान खेतमा पानी पसेपछि चारैतिर जलमग्न भएको स्थानीय भुटनीदेवी रामले बताइन्। बाँध भत्किंदा स्थानीय राजीव सिंह र रण सिंहको करिब १५ कठ्ठा धानबाली कटान गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.