|

काठमाडौं : सरकारले १० युवालाई राष्ट्रिय युवा प्रतिभा सम्मान २०७४ बाट सम्मान गरेको छ। अन्तराष्ट्रिय युवा दिवसको अवसरमा शनिबार युवा तथा खेलकुद मन्त्रालयले विभिन्न विधाबाट छानिएका १० युवालाई 'राष्ट्रिय युवा प्रतिभा सम्मान २०७४' प्रदान गरेको हो।

युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषदले विभिन्न स्थानमा बसेर समाजमा  योगदान पुर्‍याउने १० विधाका १० जना र विभिन्न स्कुल क्याम्पसमा प्रतिस्पर्धा गराई तीन विधाबाट तीन/तीन जनालाई पुरस्कृत गरेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई सम्मान गरिन्। गायन,वक्तृत्वकला र भिजन लेखन प्रतिस्पर्धामा उत्कृष्ट तीन जनालाई पनि पुरस्कृत गरिएको छ।

को को सम्मानित?

राष्ट्रिय युवा परिषदले १० विधामा १९ देखि ४० वर्ष समूहका युवालाई सम्मान गरेको छ। सम्मानित हुने १० जनालाई जनही १ लाख रुपैयाँ नगद सहित सम्मान पत्र प्रदान गरिएको छ। 

लेखन तथा पत्रकारिता पेशाबाट पत्रकार रोहित भण्डारी सम्मानित भएका छन्। सकारात्मक सोच सहितको विकास अभियान्ताको भूमिका खेलेको तथा सिर्जनात्मक लेखनद्वारा युवा वर्गमा सकारात्मक सोचको विकास गरेबापत उनलाई सम्मान गरिएको हो। एक दशकदेखि पत्रकारितामा सक्रिय भण्डारीले 'सम्भव छ' र 'नेपालमै सकिन्छ' पुस्तक लेखेका छन्। हाल उनी सगरमाथ टेलिभिजनमा कार्यरत छन्।

मानव सेवा र शिक्षा विधामा काठमाडौंकी सविता उप्रेती सम्मानित भएकी छन्। उनले विशेष स्कुल तथा पुनर्स्थपना केन्द्र सञ्चालन गरेकी छन्। अटिजम भएका बालबालिकाको सेवा र सीप विकासमा सहयोग गरेको र विशेष प्राथमिकताको समूहका व्यक्तिको सशक्तिकरणमा लगेबापत उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ। उनले सञ्चालन गरेको विशेष पुनर्स्थापना केन्द्रमा ४५ जनाले सेवा लिइरहेका छन्।

त्यस्तै चोरी सिकारी नियन्त्रण युवा परिचालन सञ्जाल बर्दियाका अध्यक्ष हेमन्त आचार्य वातावरण संरक्षण युवा परिचालन विधाबाट सम्मानित भएका छन्। वातावरण संरक्षणमा योगदान पुर्‍याएको, थारु मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान गरेकोले उनलाई सम्मान गरिएको हो। 

कृषि र पर्यटन विधाबाट माथिल्लो मनाङका समराज गुरुङ सम्मानित भएका छन्। उनले एग्रो मनाङ नामक कम्पनी सञ्चालन गरेका छन्। उच्च हिमाली हावापानी अनुकूल व्यवसायिक स्याउ खेती मार्फत कृषि पर्यटन विकासमा नयाँ आयम थपेको कारण उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ। 

साहसिक कार्य अन्तर्गत दोलखाका फुर्वा तेन्जिङ शेर्पा सम्मानित भएका छन्। सगरमाथा आरोहणमा कीर्तिमान कायम गरेका कारण उनलाई सम्मान गरिएको हो।

उद्यमशीलता विधा अन्तर्गत हाम्रो शैलुन काठमाडौंका सिकन्दरकुमार ठाकुर सम्मानीत भएका छन्। उच्च शैक्षिक योग्यता हासिल गरेर पनि सैलुन सञ्चालन मार्फत युवाहरूमा श्रमप्रति सम्मान र उत्प्रेरणा जगाउने काम गरेकोले उनलाई सम्मान गरिएको हो। उनले स्नाकोत्तर उत्तीर्ण गरेका छन्। 

कालिकोटका बसन्तकुमार शाही स्वास्थ्य क्षेत्रमा नयाँ खोज र आविष्कार विधा अन्तर्गत सम्मानित भए। उनले योङ्ग मेडिकल रिसर्च सञ्चालन गरेका छन्। स्वास्थ्य सम्बन्धी विशेष उपकरण अन्वेषणमा क्रियाशील भएका कारण उनलाइ सम्मान गरिएको हो। त्यस्तै इन्जिनियरिङ्ग क्षेत्र अन्तर्गत दोलखाका २० वर्षे रामकुमार खत्री सम्मानित भएका छन्। सानै उमेरमा वैज्ञानिक आविष्कार र अन्वेषणको क्षेत्रमा क्रियशील रहेका कारण उनी सम्मानित भएका हुन्। 

झापाका विशाल राई कृषि उद्यम विधा अन्तर्गत सम्मानित भएका छन्। उनले झापाको विर्तामोडमा विशाल कृषि फर्म सञ्चालन गरेका छन्। उद्यमशीलताका माध्यमबाट युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर देखाउन उदाहरणीय कार्य गरेबापत उनलाई सम्मान गरिएको हो।

कञ्चनपुरकी सीता राना थारु उद्यमशीलता विशेष प्राथमिकता समूहको युवा विद्या अन्तर्गत सम्मानित भएकी छन्। कैलालीमा कल्पना सिलाई केन्द्र सञ्चालन गरेकी उनलाई शारीरिक अपाङ्ग भएर पनि उद्यमशील बनेर क्षमता प्रदर्शन गर्न सकेका कारण सम्मान गरिएको हो। उनी ह्विल चेयरको सहायताले हिँड्छिन्।  

तीन विधाका ९ जना पुरस्कृत

परिषदले देशका विभिन्न स्कुल तथा क्याम्पसका विद्यार्थीहरू बीचको प्रतिस्पर्धाबाट उत्कृष्ट हुने तीन विधाका तीन/तीन जनालाई पुरस्कारसहित सम्मान गरेको छ।पहिलो,दोस्रो र तेस्रो स्थानमा विजयी हुनेहरूलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद सहित पुरस्कृत गरिएको हो।

भिजन लेखनमा क्रमश प्रदीप भट्टराई, रौनीकराज अर्याल र सुवास रिजाल पुरस्कृत भएका छन्। गायनमा मुस्कान राई, सुरेश रावल र डकेन्द्र थापा छन् भने वक्तृत्वकलामा डेनिशा चौलागाई, रोजीना आचार्य र विजयादेवी भट्टराई पुरस्कृत भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.