|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। मुलुकका विभिन्न भू-भागमा शुक्रबारदेखिको लगातारको वर्षापछि आएको बाढीपहिरोले धनजनको क्षति पुर्‍याएपछि क्षति न्यूनीकरण, राहत, उद्धार र सहयोगका लागि तत्काल कदम चाल्ने विषयमा निर्णय लिन बैठक बोलाइएको हो।

लगातारको बाढीले जनधनको धेरै क्षति पुगेकाले त्यसलाई रोक्न र पीडितलाई सहायता प्रदान तथा सहयोगको आह्वान गर्ने विषयमा ठोस निर्णय लिन साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीका स्वकीय सचिव केशवराज जोशीले बताए।

मन्त्रिपरिषद्ले पीडितलाई सहायताका लागि प्रधानमन्त्री दैवी उद्धार कोष स्थापना गर्ने, सहायताको लागि आह्वान गर्ने, उद्धार तथा राहतका लागि थप कदम चाल्न साधन, स्रोत र जनशक्ति परिचालन गर्ने लगायतका विषयमा निर्णय लिने भएको छ।

बैठकले बाढीबाट अत्यधिक जनधनको क्षति भएको ठाउँ विशेषलाई संकटग्रस्त क्षेत्र घोषणा गरी विशेष सहायताका लागि ठोस निर्णय गर्ने एक मन्त्रीले थाहा खबरलाई बताए। ३ दिनदेखि परेको लगातारको वर्षाका कारण मुलुकमा ३९ जना बढीको मृत्यु भएको छ।

४ बजे कांग्रेसको आकस्मिक बैठक

बाढी-पहिरोले जनधनको ठूलो क्षति पुर्‍याएपछि त्यस विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आइतबार नै बस्ने भएको छ। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले अपराह्न ४ बजे बैठक बोलाएका हुन्।

कांग्रेस केन्द्रीय कार्यालय स्रोतका अनुसार बाढी र पहिरोका कारण भएको जनधनको क्षति संकलन, राहत, उद्धार र सहायताका लागि बैठकले सरकारलाई सुझाव दिएनेछ। बैठक प्रधानमन्त्री निवास बालुवाटामा बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.