|

काठमाडौं : अविरल वर्ताका कारण उत्पन्न विपदको समयमा विदामा नबस्न र काममा फर्किन स्वास्थ्य मन्त्रालयले सबै स्वास्थ्यकर्मीलाई अपिल गरेको छ। शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरोले जनधनको क्षति भएको अवस्थामा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्यकर्मीहरुलाई सेवामा फर्किन अपिल गरेका हुन्।

'यस्तो विषम अवस्थामा सरकारी स्वास्थ्य प्रणालीमा रहेका स्वास्थ्यकर्मीहरुलाई छुट्टीमा नबस्न, तालिम, भेला, गोष्ठी लगायतका सम्पूर्ण कार्य रोकी कार्यस्थलमा फर्केर आफ्नो जिम्मेवारी सम्हाल्न, २४ सैं घण्टा फिल्डमा रहेर सेवा दिन र आवश्यक औषधी तथा जनशक्तिको व्यवस्था मिलाउन विशेष निर्देशन गर्दछु' स्वास्थ्यमन्त्रीले अपिलमा भनेका छन्।

यस्तै मन्त्री पोखरेलले यो असहज र विपदको अवस्थामा घाइते तथा विस्थापितहरुको तत्काल उपचार गर्ने गराउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालय प्रतिवद्ध रहेको जनाएका छन्। वर्षाको  यस्तो बेलामा महामारी फैलन सक्ने हुँदा सतर्क रहन उनले सबैमा अपिल गरेका छन्।

'यस बिषम परिस्थितीमा बाढी पहिरोबाट बिस्तापित, घाइते एवं प्रभावितहरुमा औषधी तथा उपचारबाट  वञ्चित हुने अवस्था सिर्जना हुन नदिन, यसपछि उत्पन्न हुने झाडापखाला, हैंजा, आउ, जण्डिस लगायतका रोगब्याधी तथा महामारी फैलन सक्ने सम्भावनाप्रति अहिल्यैंदेखि नै सतर्क रहन सम्पूर्ण सरकारी, गैर सरकारी तथा नीजि स्वास्थ्य संस्था, निकाय एवं स्वास्थ्यकर्मीहरुलाई अनुरोध गर्दछु' मन्त्री पोखरेलले अपिलमा भनेका छन्।

स्वास्थ्य मन्त्री पोखरेलले अहिले विपदको अवस्था भएकाले अनशन तोड्न डा. गोविन्द केसीलाई पनि आग्रह गरेका छ्न्। उनले केसीको माग सम्बोधन र सम्मान गर्न प्रधानमन्त्रीको सक्रियतामा शिक्षा, स्वास्थ्य मन्त्रालय र नागरिक समाज समेत क्रियाशील रहेको भन्दै माथेमा आयोगको मूल मर्मको आधारमा चिकित्सा शिक्षा विधेयक संसदको महिला बालबालिका तथा समाज कल्याण एवं जेष्ठ नागरिक समितिबाट सर्वसम्मतिले पारित भई संसदमा पेश हुने क्रममा रहेको बताएका छन्।

'यस परिस्थितिमा बाढी पहिरोबाट उत्पन्न असहज अवस्थालाई समेत दृष्टिगत गरी डा. केसीलाई आफ्नो अनशन अन्त्य गरेर सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई बाढी प्रभावित क्षेत्रमा गई स्वास्थ्य सेवामा जुट्न उत्प्रेरित गरिदिनु हुन बिशेष अपिल गर्दछु' उनले भनेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.