|

काठमाडौँः वाङ्मय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा लेखक तथा किरात लोहोरुङ राई संस्कृति अन्वेषक एलेन ठूलेद्वारा लिखित ‘किरात लोहोरुङ राई चिनारी’ पुस्तकको लोकार्पण गरे। 

लोकार्पणपछि बोल्दै संस्कृतिविद् जोशीले ठूलेको पुस्तक हरेक हिसाबले महत्त्वपूर्ण रहेको दाबी गरे। ‘युनेस्कोको अवधारणा, नेपाल सरकारको सांस्कृतिक नीति आदिको हिसाबले पनि यो पुस्तक उत्तिकै महत्त्वपूर्ण छ’, उनले हरेक जातिको चिनारी आवश्यक रहेको उल्लेख गर्दै भने ‘अमूर्त सांस्कृतिक सम्पदाका क्षेत्रमा ठूलेको पुस्तकलाई मैले नवीन उपलब्धिको रूपमा लिएको छु।’

सिंगापुर पुलिस फोर्सअन्तर्गत गोर्खा कन्टिन्जेन्टका अवकाशप्राप्त चिफ इन्स्पेक्टर संखुवासभा गैरी पाङ्माका लीलानाथ लोहोरुङ राई एलेन ठूले नामबाट साहित्यिक वृत्तमा परिचित छन्। सन् २०१० मा अवकाश पाएपछि लेखनमा लागेका उनले लामो खोजअनुसन्धानपछि ‘किरात लोहोरुङ राई चिनारी’ तयार पारेको बताए।

किरात राई लोहोरुङ समाजका लागि गंगाकुमारी राई प्रकाशक रहेको उक्त कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै लेखक तथा भाषाविद् प्रा.डा. विष्णुसिंह राईले बन्दुक चलाउने व्यक्ति लेखनमा लागेकोमा प्रशंसा गर्दै भाषा, संस्कृति जोगाउन सम्बन्धित जाति एवं समुदाय नै लाग्नुपर्ने धारणा व्यक्त गरे।

लेखक ठूलेले लोहोरुङको चिनारी दिने दस्तावेजको अभाव देखेपछि आफ्नो संस्कार, संस्कृति संकलनमा लागेको सुनाए। उनका यसअघि ‘सम्झनामा किम्बर्ली क्रस’ र ‘सम्झनामा कराते यात्रा’लगायत कृति प्रकाशित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.