|

डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिका– १२ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालयमा विद्यार्थीहरूले ताला लगाएका छन्।

यही साउन २५ गते बसेको विद्यालय व्यवस्थापन समितिको  बैठकले शुल्क वृद्धि गरेपछि विद्यार्थीले आइतबार बिहान ताला लगाएका हुन्। 

कक्षा ११ र १२ को बढाएको वार्षिक शुल्क घटाउन माग गर्दा विद्यालयले आफूहरूको माग सम्बोधन नगरेपछि तालाबन्दी गरेको सिद्धनाथ माविका विज्ञान संकायमा अध्ययनरत विद्यार्थी डम्बर भाटले बताए।

विद्यालयले कक्षा ११ मा अध्ययन गर्ने शिक्षा र व्यपस्थापन संकायका विद्यार्थीबाट लिँदै आएको नौ हजार ७७५ रूपैयाँलाई बढाएर १६ हजार रुपैयाँ पुर्‍याएको छ।

यस्तै, कक्षा ११ कै विज्ञान संकायका विद्यार्थीबाट लिँदै आएको वार्षिक शुल्क २० हजार ५२५ रूपैयाँलाई बढाएर २८ हजार रुपैयाँ पुर्‍याएको विद्यालयका शिक्षक प्रमानन्द पन्तले जानकारी दिएका छन्।

विद्यालयले कक्षा १२ मा अध्ययन गर्ने शिक्षा र व्यवस्थापन संकायका विद्यार्थीबाट लिँदै आएको छ हजार १५० रूपैयाँलाई बढाएर १० हजार रुपैयाँ र विज्ञान संकायका विद्यार्थीबाट लिने गरेको १४ हजार ७०० रूपैयाँलाई बढाएर २१ हजार रूपैयाँ पुर्‍याएको बताइएको छ। 

उता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जय साउदले विद्यालयको आर्थिक स्रोत न्यून भएकाले शुल्क वृद्धि गरेको बताएका छन्। विद्यार्थीहरूले भने बढाएको शुल्कको ६० प्रतिशत घटाउनुपर्ने माग गरेका छन्। 

तालाबन्दीले कक्षा ११ र १२ का विद्यार्थीहरूको पढाइ प्रभावित भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.