|

काठमाडाै‌ं : केही दिनदेखि लगातार परिरहेको अविरल वर्षाका कारण देशका विभिन्‍न जिल्लाहरुमा बाढी, पहिरो र डुबानबाट ठूलो जनधनको क्षति भएको छ। सर्वसाधारण, समाजसेवादी तथा विभिन्‍न पार्टीमा आबद्ध नेता-कार्यकर्ता समेत बिस्थापितहरुको उद्धार तथा सेवाकार्यमा लागेका छन्। 

नेकपा (क्रान्तिकारी) माओवादी निकट देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले पनि पीडितहरुको उद्धारमा लाग्‍न कार्यकर्तालाई अपिल गरेको छ। मोर्चाका अध्यक्ष सीपी गजुरेलले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै विपदको यस घडीमा घाइतेहरुको यथाशिघ्र उपचार, राहत, पुनस्र्थापना र उचित व्यवस्थापनको लागि नेपाल सरकारसँग माग गरेका छन्।

'प्राप्त विवरण अनुसार विभिन्‍न जिल्लामा बाढी, पहिरो र डुबानमा परी ७० जनाको ज्यान गएको, ५० जना बेपत्ता र ३४ हजार घर डुबानमा परेका छन्। प्राकृतिक प्रकोपको यस दुःखद घडिमा हाम्रो मोर्चा मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ भने शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दछ।घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछ,' विज्ञप्तिमा भनिएको छ,' यस विपद् घडीमा हाम्रो मोर्चा पीडितहरुको उद्धारकार्यमा लाग्‍न मोर्चाका आम पंक्तिलाई अपील गर्दछ। घाइतेहरुको यथासिघ्र उपचार, राहत, पुर्नस्थापना र उचित व्यवस्थापनको लागि नेपाल सरकारसँग जोडदार माग गर्दछ।'

मोर्चाले भारतले सीमा क्षेत्रमा एकलौटी ढंगले बाँधेको बाँधका कारण यस्ता समस्याले विकराल रुप लिने गरेको दाबी गरेको छ। 'एकलौटी ढंगले भारतले सीमा सम्बन्धी अन्‍तर्राष्ट्रिय कानूनको समेत उल्लंघन गरी मिचाहा र हेपाहा प्रवृति प्रस्तुत गरेका कारण तराई मधेसका जनता प्रताडित र विस्थापित हुन बाध्य छन् । त्यसकारण यस्ता गम्भीर समस्याको दीर्घकालिन समाधानको लागि भारत सरकारसँग यथासिघ्र आवश्यक पहल लिन नेपाल सरकार समक्ष हाम्रो मोर्चा जोडदार माग समेत गर्दछ,' विज्ञप्तिमा भनिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.