|

बाँकेः विभिन्न संघसंस्थाले बाँकेका बाढीपीडितका नाममा राहत संकलन गरे पनि वास्तविक बाढीपीडितले राहत नपाएको गुनासो गरेका छन्। 

आइतबार र सोमबार विभिन्न संघसंस्थाले बाढीपीडित क्षेत्रमा राहत वितरण गरेको बताए पनि राप्ती–सोनारी गाउँपालिका– ६, मेहमानपुरकी जानकी थारूले भने नपाएको बताइन्। उनले बाढीपीडितको नाम संकलन गरे पनि अहिलेसम्म यहाँका वास्तविक बाढीपीडित कसैले राहत नपाएको बताइन्। 

राप्ती नदीमा आएको बाढीले घर बगाएर लगेपछि सडकलाई आश्रयस्थल बनाएकी राप्ती–सोनारी गाउँपालिका– ४ की भागीरथी चौधरीले पनि अहिलेसम्म राहत नपाएको बताइन्। उनले क्षति संकलन गर्नसमेत कोही नआएको जानकारी दिइन्। ‘राहतका लागि अहिलेसम्म कोही आएको छैन’, उनले भनिन्, ‘हेलिकोप्टरमार्फत राहत वितरण भइरहेको छ भन्ने सुनिन्छ, तर राहत वितरणका लागि अहिलेसम्म कोही आएको छैन।’

गृहमन्त्रालयले एकद्वार प्रणालीमार्फत् राहत वितरण गर्ने भने पनि बाँकेमा प्रशासनलाई जानकारी नदिई जथाभावी राहत संकलन तथा वितरण भइरहेको स्थानीयले बताएका छन्। बाढीपीडितका लागि राहत संकलन जस्तो पुण्य कार्यमा सहयोग गरिदिनु हुन भनेर सामाजिक संजालमार्फत् सार्वजनिक गर्नेहरूको भीड नै लागेको छ। 

जिल्लामा आफूखुसी राहत वितरण भइरहेको विषयमा आफूलाई सूचना आएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए। उनले एकद्वार प्रणालीमार्फत् राहत वितरण गर्न सार्वजनिक सूचनामार्फत् आग्रह गरिएको बताउँदै आफूखुसी राहत वितरण गर्नेहरूको निगरानी गर्न नसकेको बताए। ‘प्रशासनले निगरानी गरे पनि सबैतिर भ्याउन सक्ने अवस्था छैन’, उनले भने। 

जनप्रतिनिधिमार्फत् राहत वितरण गर्ने तयारी भइरहेको प्रजिअ केसीले बताए। उनले आफूखुसी राहत संकलन र वितरण गरेको पाइए कारवाही गरिने बताए। उनले समानुपातिक रूपमा वितरण गर्न एकद्वार प्रणाली अवलम्बन गरिएको पनि बताए। ‘राहत संकलनका लागि पनि अनुमति लिने भनेका छौँ, राहत पाए÷नपाएको तथ्यांक राख्न एकद्वार प्रणालीले सहयोग गर्छ’, प्रजिअ केसीले भने। 

धमाधम राहत वितरण
जिल्ला प्रशासन कार्यालयले नेपाली सेनाको हेलिकोप्टरमार्फत् सोमबार डुडुवा गाउँपालिकाको छोटकी चौफेरी, राप्ती–सोनारी गाउँपालिका– ७, सर्रा र देउपुर्वामा राहत सामग्री वितरण गरेको छ। स्थलमार्गबाट राप्ती–सोनारी गाउँपालिका– १, कुसुम र कचनापुरमा राहत वितरण गरेको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए। 

कचनापुरमा एमालेको भ्रातृसंगठन युवा संघ बाँकेले चाउचाउ, चिउरा, दालमोठ, पानी, चिनीलगायतका सामग्री वितरण गरेको संघका जिल्ला अध्यक्ष किशोर थापाले जानकारी दिए। उनले ७२ हजार मूल्य बराबरको पाँच क्विन्टल चिउरा, २७ कार्टुन वाईवाई चाउचाउ र २५० कार्टुन मिनरल वाटर वितरण गरिएको बताए। उनका अनुसार साविक कचनापुर गाविसका टिकुलीपुर, अम्रहवालगायत गाउँका करिव चार सय बाढीपीडितलाई राहत सामग्री वितरण गरिएको छ। 

सोमबार नै निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी संघ (युनियन), नेपालगञ्ज उद्योग बाणिज्य संघ र तराई भू–परिधि कार्यक्रम (ताल) ले पनि बाँकेका बाढीपीडितलाई राहत सामग्री वितरण गरेको प्रशासनले जनाएको छ। 

सहकारी संघद्वारा साढे ५ लाखको राहत कोष स्थापना
जिल्ला सहकारी संघ लिमिटेडले बाढीपीडित राहत कोष स्थापना गरेको छ। बाढीपीडितको पीडामा मह्लम लगाउन संघले पाँच लाख ५० हजार रुपैयाँको कोष स्थापना गरेको हो। 

बाँकेका विभिन्न सहकारीको सोमबार बसेको भेलाले बाढीपीडित राहत कोष स्थापना गर्ने निर्णय गरेको अध्यक्ष प्रेम सुवेदीले जानकारी दिए। जिल्लामा रहेका सहकारीले तीजको दर खाने कार्यक्रममा हुने खर्च जोगाएर बाढीपीडितलाई सहयोग गर्ने भएका छन्। 

राहत कोषमा सोमबार नै तीन लाख ५० हजार रूपैयाँ जम्मा भइसकेको सुवेदीले बताए। उनले बाढीमा ज्यान गुमाएका परिवारलाई प्रति व्यक्ति १० हजार रूपैयाँ सहयोग रकम प्रदान गर्ने जानकारी दिए। बाढीपीडितका लागि क्रियाशील पत्रकार महिला, जेसिस, प्रेस सेन्टरलगायतले पनि राहत र सहयोगका विभिन्न कार्य गर्दै आएको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.