|

झापा : अविरल वर्षाका कारण आएको बाढीले विस्थापित झापाका ७ नगरपालिका र ६ गाउँपालिकाका बाढीपीडितलाई नेपाल रेडक्रस सोसाइटीसहित विभिन्न सामाजिक संघसंस्थाले राहत वितरण गर्न थालेका छन्। हालसम्म जिल्लाका ८ सयभन्दा बढी बाढीपीडितलाई राहत तथा सहयोग उपलब्ध गराइएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ। अन्य बाढीपीडितलाई राहत उपलब्ध गराउने कार्य भइरहेको रेडक्रसका जिल्ला सभापति लोकराज ढकालले जानकारी दिए।

उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखा, नेपाल जेसिस र विद्युत् व्यवसायी संघले झापा गाउँपालिकापा–३, ७ सिमलबाडीका ३० परिवारलाई राहत उपलब्ध गराएको छ। ती संस्थाले बाढीपीडितलाई मुरई २० बोरा, चिउरा ७ बोरा, पानी १५ कार्टुन, बिस्कुट पाँच कार्टुन, चाउचाउ १० कार्टुन उपलब्ध गराएको र झापा गाउँपालिका–७ मदरगाछका १०० बाढीपीडितलाई मुरई १० बोरा, चाउचाउ १५ कार्टुन, बिस्कुट ३ कार्टुन, त्रिपाल १० थान उपलब्ध गराएको छ।

त्यस्तै, भद्रपुर नगरपालिका–८ का २८ परिवार, भद्रपुर–५ का ७६ परिवार, भद्रपुर-३ का २६ परिवारलाई प्रतिपरिवार एक÷एक थान त्रिपाल र कम्बल, झापा गाउँपालिकाका ६० परिवारलाई प्रतिपरिवार एक थान त्रिपाल र ३६ वटा म्याट वितरण गरिएको सभापति ढकालले बताए।

त्यस्तै, हल्दिबारीका ६ परिवारलाई ६ थान, कचनकवल-४ का विस्थापित परिवारलाई २ सय थान त्रिपाल, गौरीगञ्ज-१ का विस्थापित परिवारलाई १९४ थान त्रिपाल र ८० थान कम्बल, बिर्तामोड-२ का विस्थापित परिवारलाई ३० थान त्रिपाल, १५ थान कम्बल र तीनवटा म्याट, झापा-७ चौधरी गाउँका १२ परिवारलाई एनएफआरआइ फुलसेट, कन्काइ नगरपालिका सुरुङ्गास्थित ३९ परिवारलाई ३९ त्रिपाल, ३९ कम्बल प्रदान गरिएको जनाइएको छ।

त्यस्तै, भद्रपुर उच्च माविमा रहेका ७६ परिवारलाई भद्रपुर नगरपालिका, मारवाडी युवा समाज तथा स्थानीयवासीको सहयोगमा बिहान–बेलुकाको खाना तथा खाजाको व्यवस्था गरिएको छ भने बिर्तामोड नगरपालिकास्थित विर्तामोड टाइम स्क्वायर होटलमा रहेका ६५ परिवारलाई विर्तामोड रेडक्रश उपशाखाले खानाको व्यवस्था गरेको छ।झापामा बाढीका कारण ११ जनाको मृत्यु, चार जना बेत्तपा र एक हजार ८९६ विस्थापित भएका छन् भने १२ घर पूर्णरुपमा क्षति भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.