|

काठमाडौं : चिनियाँ उपप्रधानमन्त्री वाङ याङले चिनियाँ राष्ट्रपति सी जिनपिङले छिट्टै नेपाल भ्रमण गर्ने बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भएको शिष्टाचार भेटमा चिनियाँ राष्ट्रपति सीका विशेष दूत तथा उपप्रधानमन्त्री याङले यस्तो जानकारी दिएका हुन्। 

भेटमा प्रधानमन्त्री देउवाले राष्ट्रपति सीको विशेष सत्कार गर्न नेपाल आतुर रहेको बताएका थिए। जवाफमा उपप्रधानमन्त्री याङले छिट्टै सीले नेपालको भ्रमण गर्ने जानकारी दिएको भेटमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिए।

प्रधानमन्त्री देउवा र उपप्रधानमन्त्री याङबीचको भेटमा द्धिपक्षीय हितका विविध विषयमा छलफल भएको भट्टराईले जानकारी दिए। छलफलका क्रममा प्रधानमन्त्री देउवाले तातोपानी नाका खुलाउन चिनियाँ सरकारको अग्रसरताको अपेक्षा गरे।

भेटमा चिनियाँ उपप्रधानमन्त्रीले सडक र रेलमार्गमार्फत् नेपालसँग व्यापार बिस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले राष्ट्रपति सी नेपाललाई साथमै लिएर अघि बढ्न तयार रहेको सन्देश पनि प्रधानमन्त्री देउवालाई सुनाए। 

प्रधानमन्त्री देउवाले चीनसँग विगतमा भएका सहमति कार्यान्वयनमा लैजाने प्रतिबद्धता गरे। चिनियाँ उपप्रधानमन्त्री याङले व्यापार, लगानी र पूर्वाधार विकासको क्षेत्रमा नेपालसँग सहकार्य गरेर अघि बढ्न चीन तयार रहेको बताए।

‘वान बेल्ट वान रोड’ को अवधारणा भित्र रहेर नेपालसँग सम्बन्ध सुदृढ गर्ने प्रतिवद्धता पनि चिनियाँ पक्षले व्यक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले जानकारी दिए। 

भेटमा चिनियाँ उपप्रधानमन्त्री याङले प्रधानमन्त्री देउवालाई चीन भ्रमणको निमन्त्रणा पनि दिए। यस अघि चिनियाँ उपप्रधानमन्त्री याङले राष्ट्रपति विद्या भण्डारीसँग शिष्टाचार भेटगरी द्धिपक्षीय सम्बन्धका आयामबारे छलफल गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.