|

लहान : लगातारको वर्षातसँगै सप्तरीको खाँडो, जीता, महुली, बान्द्रा, सुन्दरी जस्ता खहरे खोलामा आएको बाढीले सप्तरीको विशेषगरी पूर्व दक्षिणी क्षेत्रका गाउँ बस्ती अस्तव्यस्त बनाएको छ। 

बाढीले गाउँ नै डुबानमा परेपछि करिब तीन हजार परिवार बिस्थापित भएपछि स्थानीय सडक किनार, सामुदायिक विद्यालयमा आश्रय लिएर बसेका छन्। वर्षात् रोकिएसँगै घर फर्किने तर्खर गरिरहेका बाढी पीडितहरु बाटो नै बाढीले बगाएपछि डुङ्गाको सहारामा लिन बाध्य छन् भने डुबानमा परेर माटोको कच्ची घर नै भत्किएपछि कैयौंलाई घर कसरी बनाउने भन्ने संकट थपिएको छ। 

सप्तरीको पूर्वी भेगमा पर्ने सप्तकोशीको पश्चिमी तटबन्धसँग जोडिएको तिलाठी कोइलाडी गाउँपालिका ४ कुसहाका हरेराम सिंहले भने ‘महुली खोलामा आएको बाढीले बाटो बगाएपछि कुसहाका दुई टोलका गरी करिब एक सय २५ घर टापुमा परेको छ।’

महुली खोलाले चारैतिर घेरिएको कुसहा गाउँबाट बाढीपछि गाउँ बाहिर आउन जान गाउँलेले चन्दा उठाएर ४५ हजार रुपैयाँमा एक पल्टमा १० जना जति अटाउने डुङ्गा किनेर तीन दिनदेखि चलाउन थालेको सिंहले बताए।

गाउँकै डुङ्गा चालक धर्मी मण्डललाई गाउँलेहरुले प्रति घरधुरी एक सय रुपैयाँको दरले उठाएर दिने निर्णय भएको सिंहले जानारी दिए । कुसहा गाउँकै छिमेकी डलवा, टिकुलिया र सकरपुरामा पनि गाउँलेहरुले डुङ्गामा गाउँ आवत जावत गर्न थालेका छन् ।  

त्रिपालमुनिको बास 

गाउँमा बाढी पसेपछि बिस्तापित भएका बर्साइन, सखरपुरा, डलवा, रमपुरा मलहनियाका गरी करिब एक हजार परिवार हनुमाननगर रमपुरा मलहनियाँ सडकको विभिन्न खण्डमा त्रिपाल टाँगेर आश्रय लिइरहेका छन्। त्रिपालमा छोराछोरीसँगै भेटिएकी कोइलाडी ७ की सुनिता सदायले भनिन् ‘खानेपानीको सुविधा छैन, गाउँमा भएको झुपडी पनि भत्कियो, राती अँध्यारोमा सर्प बिच्छीको त्यस्तै त्रास, छोराछोरी जोगाउनै मुश्किल पर्‍यो।’

बाढीले डुबेको गाउँ बिस्तारै सुक्न थालेपनि बिस्थापितहरु घर फर्किन अझै हप्ता दिन जति लाग्ने जनाइएको छ। बाढीबाट जोगिएकाहरु स्वच्छ खानेपानीकै अभावमा महामारीमा पर्न सक्ने जोखिम बढेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीको प्रारम्भिक तथ्याङ्क अनुसार बाढीमा जिल्लाका एक हजार चार सय ८९ परिवारका पाँच हजार चार सय ११ जना विस्थापित भएका छन् भने तीन  हजार ६ सय ९० घर डुबानमा परेका छन्। सप्तरी रेडक्रसले भने बाढीबाट जिल्लामा एक लाख ३० हजार ६ सय २९ परिवार प्रभावित भएको जनाएको छ।

बाढीले २६ हजार तीन सय २५ जना विस्थापित भएको रेडक्रसको तथ्याङ्कले देखाउँछ । जिल्ला दैवी प्रकोप उद्धार समितिको बुधबार सम्पन्न बैठकले हरेक स्थानीय तहका कार्यकारी अधिकृत वा सचिवको संयोजकत्वमा लगत संकलन समिति गठन गरी तत्काल लगत संकलन गरी वास्ताविक बाढी प्रभावितहरु यकिन भएपछि पुनर्निर्माणमा जुट्ने निर्णय गरेको छ ।

राहत पनि बाँडिदै 

बुधबार दिउँसो नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सप्तरीको देउरी भरुवा, हनुमाननगर इनर्वाका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै राहत सामग्री वितरण गरेका छन्।

स्थानीय बाढी पीडितहरुलाई जिल्ला दैवी प्रकोप उद्धार समितिको सिफारिसमा सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरी र इलाका प्रहरी कार्यालय हनुमाननगरको समन्वयमा रमपुरा मलहनियाँ डलवाका एक सय ७२, कोइलाडीका तीन सय तीन सय परिवारलाई एक/एक थान त्रिपाल, झुल, तोलिया, नाइलन डोरीसहित सरसफाई किट उपलब्ध गराइएको सेभ द चिल्ड्रेनकी कार्यक्रम संयोजक रचना थापाले जानकारी दिइन्। संयोजक थापाका अनुसार समितिको सिफारिशमा जिल्लाका अन्य बाढी प्रभावित क्षेत्रमा पनि सेभले बाढी पीडितहरुलाई सहयोग गर्ने तयारी गरेको छ।   

हेर्नुस् थप फोटोहरु

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.