'प्रहरीको रोक्यो'

|

  • भविश्वर पाण्डे

कावासोती : गण्डक सम्झौताबाट बनेको नवलपरासीको भारतीय नहर स्थानीयवासीले भत्काएका छन्। भारतीय नहरका कारण जिल्लाको सुस्ता गाउँपालिका वडा नम्बर १ र २ डुबानमा परेको भन्दै स्थानीयवासीले फलामे पुल नजिकै भारतीय नहर खनेर भत्काएका हुन्।

करिब दुई सयको संख्यामा रहेका उनीहरूले भारतीय नहरका कारण आफ्नो घर र खेतबारी डुबानमा परेको भन्दै नहर भत्काएका हुन्। नहर भत्काउँदै गर्दा उनीहरूलाई प्रहरीले रोकेको थियो।

अविरल वर्षाका कारण नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर १ र २ डुबानमा परेका छन्। पानीले घरबास उठिबास हुन लागेको र एक हजार बिगाहा भन्दा बढी धानबाली नष्ट गर्न थालेपछि पानीको निकास निकाल्न भारतीय पश्चिमी नहर फुटाल्न गएको सुस्ता गाउँपालिका १ छिबनीका बाबुराम सुवेदीले बताए।

पानीको निकास नहुँदा सुस्ता गाउँपालिकाको वडा नम्बर १ का बरुवा, छिबनी, फेचुहा र रुपौलिया तथा वडा नम्बर २ का सत्तपति र महलबारीमा एक हजार बिगाहाभन्दा बढी जमिनमा लगाइएको धानबाली र नगदेबाली उखु नष्ट भएको छ। आफूहरूले लगाएको खेतीबाली वर्षेनी यसरी नै डुबानमा पर्ने गरेको स्थानीयवासी सुवेदीले बताए। डुबानबाट बच्न भारतीय नहरमा एउटा साइफन (निकास) बनाउनु उनले बताए।

पटकपटक प्रशासनलाई भन्दा पनि कुनै सुनुवाई नभएको स्थानीयवासीको गुनासो छ।

भारतीय पश्चिमी नहरमा पानीको निकासका लागि साइफन वा स्वचालित फाटक बनाउनुपर्ने सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए।

आफुहरू डुबानमा पर्ने र पानीको निकास निकाल्न खोज्दा प्रहरीहरुले रोक लगाउने कार्य निन्दाजनक भएको सुस्ता गाउँपालिका वडा नम्बर १ का वडा सदस्य ज्ञानु न्यौपानेले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.