|

जनकपुरधाम : राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रदेश नम्बर २ को निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपाल जान तयार रहेको बताएका छन्। शुक्रबार जनकपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले निर्वाचनको माहोल बन्दै गएको कारणले पार्टीले चुनावबारे छिट्टै निर्णय गर्ने बताए।

संसदमा संविधान संशोधन विधेयक पेश भएको र पारित हुनेमा आफ्नो पार्टी आशावादी रहेको बताउदै नेता महतोले मधेसको समस्या समाधान गर्नको लागि सबै दलहरुले गम्भीर हुनुपर्ने धारणा राखे। उनले संशोधन विधेयक एक दुई दल बाहेक सबै दलको समर्थनमा पारित हुनेमा आफू आशावादी रहेको समेत बताए। भदौ ५ गते संशोधन विधेयक संसदमा निर्णयार्थ पेश भएपछि पार्टीले निर्वाचनको आन्तरिक विषयमा रणनीति सहित छलफल गर्ने नेता महतोले बताए।

संविधान संशोधन विधेयकको विषयमा जुन दलले जस्तो व्यवहार गर्छ, त्यो विषय जनताको बीचमा लैजाने पनि महतोले बताए। उनले तराई, मधेसका जनता बाढीको समस्याबाट आक्रान्त भए पनि सरकारले उद्धार र राहत ठीक ढंगले वितरण गर्न नसकेको बताए। उनले राहत नपाउँदा बाढी पीडितहरु समस्यामा परेको भन्दै तत्काल सरकारले बाढी पीडित प्राधिकरण गठन गरी राहतको प्रबन्ध गर्नुपर्नेमा जोड दिए।

नेता महतोले शुक्रबार धनुषाको जनकपुर उप–महानगरपालिका ७ को मुसहर वस्तीमा राहत वितरण गरेका छन्। शुक्रबार जनकपुर आएका उनले दलित वस्तीमा पुगेर गरिब असहाय तथा विपन्न घर परिवारलाई प्रति परिवार १५ किलोका दरले चामल वितरण गरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.