|

सिन्धुपाल्चोक : बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना निर्माणको १७ वर्ष भइसक्दा पनि अझै मेलम्चीको पानी काठमाडौं पुगेको छैन। सन् २००१ मा मेलम्ची खानेपानी विकास समिति गठन गरी काम सुरु गरिएको मेलम्ची खानेपानी कुन दिन काठमाडौंका जनताले पिउन पाउने भन्नेमा अझै अन्योल नै छ।

समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाका अनुसार सुरुङ खन्न अब २ हजार १ सय ८३ मिटर बाँकी छ। ३ ठाउँमा अडिट निर्माण गरी खन्न थालिएको कुल २७ दशमलव ५ किलोमिटरको सिन्धुदेखि सुन्दरीजलसम्मको ९ दशमलव ५ किलोमिटर खण्ड भने डिसेम्बर २०१६ मै खन्ने काम सम्पन्न भइसकेको छ।

 अब भने अम्बाथान ग्याल्थुम खण्डमा १ हजार ६७ मिटर र ग्याल्थुम सिन्धुखण्ड १ हजार १ सय १६ मिटर खन्न बाँकी छ। हाल सुरुङ निर्माणको लागि अम्बाथानबाट तल, सिन्धुबाट माथि, ग्यल्थुमबाट तल र माथि गरी ४ वटा स्थानबाट खन्ने काम भइरहेको छ। औसतमा दैनिक १६ मिटर सुरुङ पूरा हुन्छ।

सुरुवातदेखि नै सुरुङ निर्माणमा एउटै उपकरण प्रयोग भइरहेका छन्। निर्देशक देवकोटाका अनुसार ती उपकरणहरुको कार्यक्षमतामा ह्रास आइरहेका कारण अहिलेको दैनिक प्रगतिमा अझै कमी आउन सक्दछ। बाँकी रहेको सुरुङ निर्माणका लागि नयाँ उपकरण ल्याउनसमेत ज्यादै खर्चिलो भएको कारण सम्भावना छैन।

यस हिसाबले खन्न बाँकी रहेको २ हजार १ सय ८३ मिटर र दैनिक १६ मिटरका दरले सुरुङ निर्माण पनि हुँदा सो सुरुङ निर्माण मात्रै सक्न कम्तीमा १ सय ३६ दिन लाग्छ। यो भनेको साढे चार महिना हो, जुन मंसिरको १५ हुन्छ। सुरुङ निर्माणको पहिलो चरणको काम सम्पन्न भएपछि मात्रै त्यसका फिनिसिङको काम सुरु हुन्छ। चुहिएका ठाँउहरुमा टाल्ने, भुइँ तथा वरिपरि कंक्रिट ढलान गर्ने लगायतका फिनिसिङको कामको लागि कम्तीमा ३ महिना लाग्छ।

अहिले वर्षायाम भएकोले खोलामा बाँध बाँध्ने काम पनि रोकिएको छ। बाँधस्थलमा माथिपट्टि ओडारे पहरो रहेकोले सो भत्काउन र त्यहाँ सुरक्षित पर्खाल लगाउने काम भइरहेको छ। बाँधस्थलमा ८५ मिटर माथिबाट पहरो काटी पर्खाल लगाउने काम भने अन्तिम चरणमा पुगेको छ।

यसले गर्दा पनि आयोजनाको समय बढेको हो। यसका साथै खोलामा बाँध बाँध्न हिँउद कुर्नैपर्छ। बर्खामा खोलामा बाढी आउने हुँदा सो समयमा बाँधको काम गर्न सकिँदैन। खोलाको सतह घटेपछि मात्रै बाँध निर्माण कार्य सुरु गर्न सकिन्छ। बाँध निर्माणको काम सुरु भएपछि पनि पूरा हुन लामै समय कुर्नुपर्छ।

दैनिक २ हजार बोरा सिमेन्ट

अहिले सुरुङ निर्माण तथा अन्य प्रयोजनको लागि दैनिक २ हजार बोरा सिमेन्ट आवश्यकता छ। विभिन्न स्वदेशी तथा विदेशी उत्पादक कम्पनीसँग सिमेन्ट ल्याइएको भएपछि वर्षायाममा सिमेन्टलाई सुरक्षित भण्डारण र प्रयोग गर्न समस्या भइरहेको छ।

सिमेन्ट कन्टेनरमार्फत सिधै धुलोको रुपमा ल्याउन सकिएमा लागत तथा समय पनि बचत हुने भएता पनि बर्खाका कारण सिमेन्ट बोरामा नै ल्याउने गरिएका कारण पनि पर्याप्त सिमेन्ट उपलब्ध हुन र सुरक्षित प्रयोग गर्न सकिएको छैन।

नेपाली ठेकेदारले अझै पाएका छैनन् भुक्तानी

सिएमसीको बदमासीको कारण स्थानीय नेपाली ठेकेदारहरुले समयमै आफ्नो भुक्तानी पाएका छैनन्। निर्माण सामाग्री आयातकर्ता तथा कामदार प्रयोगकर्ताका रुपमा काम गरिरहेका १ सय २० भन्दा बढी स्थानीय ठेकेदारले भुक्तानी नपाएकै कारण काम रोकिदिँदा पनि सुरुङ निर्माणमा थप समय लाग्ने देखिन्छ।

यसअघि पनि विभिन्न माग राखी स्थानीय वासिन्दा, कामदार, स्थानीय ठेकेदारले पटक-पटक आयोजना कार्यालयमा तालाबन्दी गर्ने, काम अवरुद्ध पार्ने जस्ता क्रियाकलापहरु भइरहेका थिए। आन्दोलन वा काममा अवरोध नगरी पारिश्रमिकसमेत नदिने सिएमसीको नियतिका कारण पनि काममा ढिलाइ भइरहेको छ।

पानी आइपुग्न यसकारण सम्भव छैन असोज सम्ममा

सुरुङ निर्माण कार्य, बाँध निर्माण कार्य सकिए पनि यिनीहरुको बीचमा चुहावट नहुने गरी जोडाई गर्नु अर्को महत्वपूर्ण काम बाँकी नै रहनेछ। साथै सुरुङभित्र चुहावट भइरहेका विभिन्न रसायनिक तत्वहरुको अध्ययन गरिएको छैन। यसमा हुन सक्ने मानव शरीरलाई लाभ दिने वा क्षति पु¥याउने तत्वबारे व्यापक अध्ययन हुनु पर्दछ।

यदि मानव शरीरलाई हानि हुने खालका रसायन भेटिएमा यसलाई पानीमा मिसिन नदिन अर्को प्रविधि अपनाउनुपर्ने हुन्छ। यससम्बन्धी धेरै काम गर्न बाँकी नै छ। यसबाट मेलम्चीको पानी काठमाडौं पुग्न सरकारले भनेजस्तो असोज मसान्त कुनै हालतमा पनि सम्भव देखिँदैन।

नरम चट्टान भेटिएपछि सुरुङ निर्माणमा कठिनाइ

सुरुङ निर्माणको क्रममा जति ज्यादा कडा चट्टान भेटियो, सुरुङ त्यति ज्यादा मजबुद र खन्न पनि सहज हुन्छ। यसअघि, ब्रेक थ्रु गरिएको सिन्धु सुन्दरीजल खण्डमा नरम चट्टान भेटिएका कारण सुरुङ नै खुम्चिएको थियो।

अहिले काम भइरहेको ४ वटा खण्डमध्ये अम्बाथानको तलतिरको खण्डबाहेकका ३ वटै खण्डमा नरम चट्टान भेटिएको छ। नरम चट्टान भएपछि सुरुङ निर्माण कार्य ढिला हुने र सुरुङ पनि कम मजबुद हुने देवकोटाले बताए। यस्ता नरम चट्टानी क्षेत्रमा फिनिसिङको कामका लागि पनि श्रम, लगानी र समय सबै कुरा बढी खर्च हुने गर्दछ।

अहिलेसम्म के के भयो आयोजनामा?

२००१ मा ३७ अर्ब बजेट विनियोजन गरी खानेपानी आधिकारिक सुरुवात भएको भए पनि ०४५ मा बिन्नी एन्ड पाटनर्स युकेले खानेपानी समस्या समाधानका लागि २० आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो। तीमध्ये मेलम्ची आयोजनालाई पहिलो प्राथमिकतामा राखिएको थियो। ०४७ मा  स्टेनले एन्ड एसोसिएसनले मेलम्चीबारे थप अध्ययन गरेको थियो भने ०४९ को अस्ट्रेलियन कम्पनी स्मेकले गरेको अध्ययनले मेलम्चीको विकल्प नभएको ठहरसमेत गरेको थियो।

खानेपानी आयोजना निर्माणको लागि नेपाल सरकारले चिनियाँ ठेकेदार कम्पनी चाइना रेलवे १५ ब्युरो गु्रप कर्पोरेसन र सिआरसिसीसँग सन् २००९ मा पहिलो सम्झौता गरेको थियो। सम्झौताअनुसार काम नभएपछि ६ किलोमिटर सुरुङ खनेको उक्त चिनियाँ कम्पनीसँग सन् २०११ मा सरकारले सम्झौता तोड्यो।

त्यसपछि ०७३ वैशाखमा पानी काठमाडौंमा वितरण गर्ने लक्ष्यसहित इटालियन कम्पनी को अपेराटिभ मुरातोरी एन्ड केमेन्टेस्टी (सिएमसी) सँग सन् २०१३ मा ७ अर्ब ७२ करोड रुपैयाँमा सुरुङ र बाँधको काम सक्ने गरी नँया ठेक्का सम्झौता गरियो।

मार्च २०१८ सम्मको लागि अन्तिम समयसीमा तोकिएको सिएमसीले लक्ष्य अनुसारकै मितिमा काम सम्पन्न गरेमा बोनस उपलब्ध गराइने घोषणासमेत गरिएको छ। अन्तिम समयमा कुल २३ अर्बको लगानीमा काठमाडांवासीलाई मेलम्चीको पानी खुवाउने लक्ष्यका साथ काम भइरहेको आयोजनाको काठमाडौं उपत्यकाभित्र खानेपानी वितरणको लागि पाइप गाड्ने काम पनि भइरहेको छ। यसको लागि पनि अझै केही समय लाग्नेछ।

किन आउँछन् प्रधानमन्त्री निरीक्षणमा?

प्रधानमन्त्री फेरिएपिच्छे मेलम्ची खानेपानी आयोजनाको सुरुङ र विभिन्न निर्माणस्थलको निरीक्षण गरिने गरिएको छ। तर, आयोजनाले काठमाडौंमा चाँडै पानी पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको कैयैंपटक भइसकेको छ।

गतसाल पूर्वप्रधानमन्त्री प्रचण्ड निरीक्षणमा आउँदा आयोजनाले ०७४ को सुरुसँगै काठमाडौंमा पानी पुर्‍याउने बताएको थियो। त्यसअघिका प्रधानमन्त्री निरीक्षणमा आउँदा पनि उस्तै वचन बोलेका थिए। तर, सुरुङमा काम गर्ने इन्जिनियर र कामदारको भनाइअनुसार राजधानीमा पानी पुग्न अझै लामो समय कुर्नपर्नेछ।

बाँधस्थलको आधा काम पनि सकिएको छैन

२६ दशमलव पाँच किलोमिटर सुरुङमध्ये २२ सय मिटर खन्न अझै बाँकी छ। सुरुङ निर्माण सकिए पनि त्यसको फिनिसिङ गर्न समय लाग्छ। अर्कोतिर बाँधस्थलको आधा काम पनि सकिएको छैन। पटकैपिच्छे खानेपानी तथा सरसफाइमन्त्री आएर निर्देशन र निरीक्षण गरिएको भए पनि काममा पारदर्शिता र तीव्रता नआएको नेपाली ठेकेदार बताउँछन्।

त्यसो त नेपाली व्यवसायीको भनाइअनुसार सिएमसीले कामदारको पारिश्रमिक नदिएकोले काममा ढिलासुस्ती र नैराश्यता छ। सुरुङजस्तो खतरा ठाउँमा काम गरेको ज्याला सिएमसीले ३ महिनादेखि ५ महिनासम्ममा अपूरो गरी दिने गरेको सुरुङ निर्माणका हेल्पर स्थानीय ज्योति गिरी बताउँछिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.