|
सांकेतिक फोटोः keithnicolas.wordpress.com

विराटनगर : रतुवामाइ नगरपालिका ६ शनिश्चरे बजारका दीपक निरौलाको किराना पसलमा बुधबार बिहानको राति लुटपाट भयो। उनको पसलबाट ६० हजार बराबरको रिचार्ज कार्ड, चाँदीका सिक्का तथा अन्य सामग्री गरेर ५/६ लाख बराबरको सामान चोरी भएको पसल सञ्चालक निरौलाले बताए।

शनिश्चरे बजारनजिकै रहेको साहारा बैंकमा पनि केही समयअघि लुटपाट भएको थियो। बैंकबाट डेढलाख रुपैयाँ चोरी भयो। त्यसैगरी रतुवामाई नगरपालिका ४ का गुलचन्द माझीको मोबाइल पसलमा पनि १ महिना अगाडि चोरी भयो। शनिश्चरे बजारकै पुष्प दाहालको किराना पसल चोरी भएको पनि लगभग ३ हप्ता बढी भएको निरौलाले जानकारी दिए ।

रतुवामाई नगरपालिकाको ६ र ४ नम्बर वडामा श्रृंखलाबद्ध चोरीका घटना बढेपछि स्थानीय त्रसित बनेका छन् । ‘निरन्तर एउटै तरिकाले चोरी भएको छ,’ पीडित निरौलाले भने, ‘यसअघिको चोरीलाई प्रशासनले तदारुकताका साथ अनुसन्धान नगरेको र चोरलाई नपक्रेको कारण मैले पनि यो नियति भोग्न बाध्य भएँ।’

रतुवामाई नगरपालिकामा बाढी र वर्षाले पीडित बनेकाहरूलाई राहत र उद्धारमा खटिरहेको समयमा चोरको विगविगी बढेको नगर प्रमुख रविन राईले बताए। ‘चोरीको घटना बढेको मैले सुन्दै आएको थिएँ, सामान्य सम्झें,’ राईले भने, ‘जब पीडितहरुले श्रृंखलाबद्ध घटना सुनाए यो अलिक गम्भीर प्रकारको जस्तो लागेको छ।’

आफूले स्थानीय प्रशासनलाई चोरी नियन्त्रणका लागि गम्भीर हुन आग्रह गरेको राईले बताए। ‘कसरी के के संयन्त्र प्रयोग गरेर हुन्छ चोर पत्ता लगाउनु आवश्यक देखिएको छ,’ राईले भने, ‘सोही अनुसार इलाका प्रहरी कार्यालय सिजुवालाई भनेको छु।’

यता इलाका प्रहरी कार्यालय सिजुवाका प्रमुख केशवकुमार कट्वालले घटनाको विषयमा अनुसन्धान भइरहेकोले छिट्टै चोर पत्ता लाग्ने बताए। ‘प्रहरीले शंकास्पद व्यक्तिलाई सोधपुछ गरेको छ,’ कट्वालले भने, ‘कल डिटेल मागेर अनुसन्धान पनि गरिरहेको छु।’ उनका अनुसार त्यस क्षेत्रमा केही महिनायता फाट्टफुट्ट चोरी भइरहेको छ। पीडित निरौलाले भने प्रहरी प्रशासनले घटनाको विषयमा गम्भीर भएर अनुसन्धान नगरेको दाबी गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.