पोषणसम्बन्धी काम गर्ने संस्थाले आपसमा समन्वय नगर्दा समस्या

|

गोरखा : गोरखामा हरेक बार खाना चारको नारा खुबै सुनिन्छ। तर, कुपोषणको अवस्था भने नारा घन्काइएजस्तो छैन। खाद्यान्नको चरम संकटसमेत हुने गोरखाको पोषण तथा स्वास्थ्य स्थिति सुधार गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसस्थाहरु क्रियाशील छन्। भूकम्पपछि त त्यस्ता संस्थाहरु गोरखा भित्रने लहड नै चल्यो। भूकम्पका बेला गोरखा आएका संघसंस्थाहरु अहिले केही मात्र गोरखामा क्रियाशील छन्।

जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका अनुसार आर्थिक वर्ष ०७३\०७४ मा जम्मा ९ सय १८ जनालाई कुपोषण भएको पाइएको छ। करिब ६० जना कुपोषणकै कारणले उपचाररत छन्।‘कुपोषणको दर केही घटे पनि कुपोसित भएकाहरु हुनुहुन्छ’ जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका पोषण अधिकृत नवराज खड्काले भने, ‘आर्थिक वर्षभरिमा अति शीघ्र कुपोषण ३१ जना बालबालिकामा भेटिएको छ।

त्यस्तै, ३ सय ८३ जना बालबालिकामा मध्यम शीघ्र कुपोषण देखियो।’ उनका अनुसार गर्भवती तथा सुत्केरी महिलाहरु पनि धेरै जनामा नै कुपोषण देखिएको खड्काले बताए। जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका अनुसार जिल्लाभर ५ सय ४ जना गर्भवती तथा सुत्केरी महिलाहरुमा कुपोषण लागेको भेटिएको छ।

सुआहारासँगै नेफेग, एनट्याग, हेल्थ फर लाइफ लगायतका संस्थाहरु गोरखाको पोषण अवस्था सुधार गर्न भनी क्रियाशील छन्। गाउँगाउँमा कुपोषणको दर घटाउन र सरसफाइसम्बन्धी ज्ञान दिन भनी जिल्लामा क्रियाशील रहेको सुआहारा कार्यक्रम जिल्लाको तत्कालीन ६० वटा गाविस तथा हालको ९ गाउँपालिका र एक नगरपालिकामा क्रियाशील छ। सुआहारा कार्यक्रम गोरखाका प्रमुख यम जिसीले भने जिल्ला जनस्वास्थ्य कार्यालयको रेकर्डलाई नै दोष लगाए।

‘अपेक्षा गरे अनुसारको रिजल्ट नआएको हुन सक्छ’ उनले भने, ‘तर पनि जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकअनुसार नभई फरक हुन सक्छ त्यत्तिको संख्यामा कुपोषित छैनन् भन्ने हाम्रो रिपोर्ट छ। सोचे अनुसारको रिजल्ट नआउनुको कारण चाँहि हाम्रो काम गर्ने कर्मचारी थोरै भयो।

एक गाविस एक मान्छे भए हुन्थ्यो। दुईवटा गाविससम्म एक कर्मचारीले हेर्नुपर्छ।’ अहिले सुआहाराले कुपोषण भएकाहरुलाई रिफर गरी के गरे कुपोषण लाग्दैन भनेर काउन्सिलिङ गर्ने गरेको जिसी बताउँछन्। पोषणसम्बन्धी काम गर्ने संस्थाहरुले एक आपसमा समन्वय नगर्दा समस्या नघटेको हो।

त्यस्तै, अहिले पोषणसम्बन्धी मात्र काम गर्ने संस्था एनट्याग हो। भूकम्प गएलगत्तै गोरखा आएको सो संस्थाले पनि पोषणको सुधारको क्षेत्रमा काम गरिरहेको भए पनि प्रगति देखिँदैन। सबै संस्थाहरुले पोषणको क्षेत्रमा काम गरे पनि उल्लेख्य प्रगति नआएको जिल्ला जनस्वास्थ्य कार्यालय बताउँछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.