|

काठमाडौं : नेकपा माओवादी केन्द्रले पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलनमा कुनै एक उम्मेदवारलाई मात्र पार्टीले समर्थन नगरेको प्रष्ट पारेको छ। मंगलबार बिहान फेसबुकमा स्टाटस लेख्दै प्रवक्ता पम्फा भुसालले चुनावी प्रतिस्पर्धामा रहेका सबै विद्यार्थी नेताहरु पार्टीको लागि समान भएको भन्दै कोही आधिकारिक र कोही अनाधिकारिक नरहेको बताएकी हुन्। 

'विद्यार्थीको नेतृत्व चयनमा कोही पनि पार्टीको आधिकारिक र अनाधिकारिक नरहेको र सबै विद्यार्थी नेता तथा कार्यकर्ताहरु पार्टीका लागि समान रहेको कुरा हाम्रो पार्टी स्पष्ट गर्दछ' उनले लेखेकी छन्।

भदौ ७ गते काठमाडौंमा सुरु भएको अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलनको नेतृत्व सर्वसम्मत रुपमा चयन नभएपछि निर्वाचन हुने भएको छ। माओवादी केन्द्रकी प्रवक्ता भुसालले पार्टीले सर्वसम्मत रुपमा नेतृत्व चयन होस् भन्ने चाहना राखे पनि सर्वसम्मत हुन नसकेमा स्वस्थ प्रतिस्पर्धा गर्न सुझाव दिएको पनि खुलाइन्। उनले फेसबुकमा लेखेकी छन्, 'अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलनबाट नेतृत्व चयन सकेसम्म सर्वसम्मत होस् भन्ने हाम्रो पार्टी नेकपा माओवादी केन्द्रको धारणा हो। यदि सर्वसम्मत हुन नसके स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गरियोस् भनेर सुझाव दिइएको छ।'

अखिल क्रान्तिकारीको अध्यक्ष पदका लागि सोमबार अनिल शर्मा, मदन अर्याल र रञ्जित तामाङले उम्मेदवारी दर्ता गरेका छन्। नौ जना उपाध्यक्ष पदका लागि ३४ र एक महासचिव पदका लागि पाँच जनाको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक रमेश मल्लले थाहाखबरलाई जानकारी दिएका छन्। बुधबार बिहान नौ बजेदेखि चारबजेसम्म मतदानको कार्यक्रम रहेको छ।

अखिल क्रान्तिकारीमा यसअघि ९९ जनाको पदाधिकारी र झन्डै १ हजार जनाको केन्द्रीय समिति रहेको थियो। यो सम्मेलनले अध्यक्ष, ९ उपाध्यक्ष, १ महासचिव, ५ उपमहासचिव, १६ सचिव, १ कोषाध्यक्ष गरी ३३ सदस्यीय पदाधिकारी सहित २ एक ४३ जनाको केन्द्रीय समिति निर्वाचित गर्ने भएको छ। 

हेर्नुस् भुसालको फेसबुक

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.