|

गोरखा : धार्चे गाउँपालिका- ६ काशीगाउँका कान्छा गुरुङले घर बनाउन सुरु गरेको एक महिना भयो। उनले ढुंगा र सिमेन्ट/बालुवाको जोडमा दुई तले घर बनाउन लागेका हुन्। भूकम्पले घर ध्वस्त भएर चिन्ताको भूमरीमा दुई वर्ष रुमल्लिएका उनी अहिले घर कसरी बनाउने भन्ने चिन्तामा छन्।

‘घर बनाउन त थालियो कसरी सम्पन्न गर्ने भन्ने सपना देखिरहेको छु,’ कान्छाले भने, ‘चामल बरु सस्तो छ, बालुवा महंगो पर्छ। पहिलेकै जस्तो घर बनाउन पाउँदैन भन्छ। त्यस्तै बनायो भने सरकारले पैसा दिन्न रे!’ भूकम्प प्रतिरोधी घर बनाउनु पर्छ भन्ने कुरा अझै राम्रोसँग नबुझिसकेका कान्छा सरकारले दिने दोस्रो र तेस्रो किस्ता बुझ्नकै लागि ढुंगालाई सिमेन्टले जोडको घर बनाउँदै छन्।

उनका अनुसार गाउँमा मन्सुली चामल ३० केजीको बोरा खरिद गर्दा १५ सय पर्छ। तर, एक बोरा बालुवा ल्याउन त्यो भन्दा महंगो पर्न जान्छ। 'बालुवा ल्याउनै नसकिने भयो,’ उनले भने, ‘बूढीगण्डकीमा बालुवा झिक्नै सकिन्न, सोती बजारतिरबाट ल्याउनुपर्छ, खच्चडमा ल्याउने हो भने बोराको १५ सय रुपैयाँ र खच्चडवालालाई खाजा समेत खुवाउनु पर्छ।’

कान्छाकै जस्तो समस्या इच्छा निमाविका प्रधानाध्यापक विजयराज सापकोटाले पनि भोगिरहेका छन्। ‘विद्यालय बनाउनै समस्या भयो,’ गोरखा सदरमुकाममा भएको एक कार्यक्रममा बोल्दै उनले भने, ‘विद्यालय बनाउन चेया नेपालले जिम्मा लियो। अर्धपक्की भवन बनाउन महाभारत नै खेपियो नि हामीले त! सबैभन्दा समस्या त बालुवा ढुवानीमा खेपियो।’

चेया नेपालले ५६ लाख रुपैँया खर्चेर अर्धपक्की आठ कोठे विद्यालय भवन निर्माण गरिदिएको हो। भूकम्पपछिको पुननिर्माणमा तत्कालको अनस्थामा अर्धपक्की भवन बनाउनेलाई मात्र स्वीकृती दिएको थियो। उत्तरी गोरखामा आवश्यक सामान ढुवानीको एक मात्र साधन खच्चड नै हो।

चुमनुब्री र धार्चे गाउँपालिकाको केही वडाहरु अहिले पनि सडक सञ्जालले जोडिएका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.