भरतपुर महानगरपालिकामा धाँधली गरेर हराइएको आरोप

|

चितवन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनपछि नेकपा एमालेले सात वटै प्रदेश र केन्द्रमा बहुमत सहितको सरकार गठन गर्ने दाबी गरेका छन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको कमिटी र राष्ट्रिय परिषद्को विस्तारित बैठकलाई आइतबार  सम्बोधन गर्दै दुई नम्बर प्रदेशमा पनि एमाले पहिलो हुने बताए। गएका निर्वाचनहरुमा एमालेका केही सिट धाँधलीले घटाएको भन्दै धाँधली रोक्न युवा विद्यार्थी लाग्नुपर्ने बताए।

नेकपा एमालेका उम्मेदवारलाई भरतपुर महानगरपालिकामा धाँधली गरेर हराइएको भन्दै उनले भने, ‘भरतपुरको परिणाम नै होइन, ज्यादती, बलजफ्ती र राज्यसंयन्त्रको दुरुपयोग गरेर एमाले हराइएको हो।’ एमालेविरुद्ध अनेक मोर्चा बन्द भइरहेको बताउँदै उनले त्यस्ता कुनै मोर्चाबन्दीले पार्टीलाई कुनै असर पार्न नसक्ने बताए। एमालेको एउटा वर्गीय संगठन जत्रो अरु दलसमेत नभएको उनको दाबी थियो।

उनले अखिल विद्यार्थीहरुलाई चुनावकेन्द्रित एजेन्डामा छलफल गरेर आउँदो निर्वाचनमा जुट्न निर्देशन दिए। माओवादी ०६४ सालमा उम्लिएर ठूलो पार्टी भएको भन्दै उनले अब त्यस्तो दिन अब कहिल्यै नआउने बताए। उनले भने, ‘दुई माना दूध उम्लिएर एकपाथीको भाडा भरिन्छ, तर दूध दुई माना नै हुन्छ।’

नेकपा एमाले देश बनाउने संकल्पका साथ लागेकाले राष्ट्रिय समृद्धिका लागि एमालेमा समाहित हुन सबैलाई आग्रह गरे। अबका निर्वाचनपछि देशमा शान्ति, सुव्यवस्था र अमनचयनसँगै देश समृद्धितर्फ अगाडि बढ्ने भन्दै उनले यो सबैको नेतृत्व नेकपा एमालेले गर्ने बताए।

एमाले सहअस्तित्व, सद्भावना र राष्ट्रिय एकताको पक्षमा रहेको भन्दै शान्ति विरोधीहरुको प्रतिवादमा पनि पार्टी जुट्ने बताए। सो अवसरमा उनले विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेहरुलाई अविर र माला लगाएर स्वागत गरेका थिए।

अनेरास्ववियुका अध्यक्ष नविना लामाको अध्यक्षतामा भएको सो कार्यक्रममा एमाले नेता रविन्द्र अधिकारी, जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल लगायतले आआफ्नो धारणा व्यक्त गरेका थिए। तीन दिनसम्म चल्ने विस्तारित बैठकमा देशभरका पाँच सय प्रतिनिधि, एक सय पर्यवेक्षक र एक सय स्वयंसेवक सहभागी भएका छन्। सहभागीहरुलाई कार्यकर्ताको घरघरमा राख्ने व्यवस्था गरिएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.