|

बैतडी : गत असार १४ गते भएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा लडेका ५० प्रतिशतभन्दा बढी उम्मेदवारले अझै खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छैनन्।

चुनाव भएको एक महिनाभित्र चुनावी खर्च बुझाउनु पर्ने कानुनी व्यवस्था रहेको भए ३ महिना बित्दा समेत धेरै उम्मेदावारले खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी माधव प्रसाद फुयाँलले बताए।

‘हामीले पटक पटक ध्यानाकर्षण गराउँदा पनि उम्मेदवारहरुले अटेरी गरे,’ उनले भने,‘हारेका अधिकांश उम्मेदवार त सम्पर्कमै छैनन्।’ जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकामा ४ सय ४० पदका लागि १ हजार ६ सय ८० उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए।

१ हजार ६ सय ८० मध्ये अहिलेसम्म ७ सय ५ जनाले मात्र चुनावी खर्चको विवरण बुझाएको फुयाँलले जानकारी दिए। जिल्ला निर्वाचन कार्यालयले पटक–पटक खर्च विवरण बुझाउन माग गरे पनि उम्मेदवारहरुले बेवास्ता गरेको उनले बताए।

चुनावमा भाग लिने सबै उम्मेदवारहरुले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ६४ को उपदफा ४ बमोजिम र स्थानीय तह निर्वाचन नियमावली २०७३ को नियम ४० को अनुसुची ३० मा निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र चुनावी खर्च बुझाउनु पर्ने कानुनी व्यवस्था छ। 

चुनावको खर्च विवरण पेस नगर्ने उम्मेदवारहरुले अर्को कुनै पनि चुनावमा भाग लिन नपाउने प्रावधान छ। उनीहरुमाथि ५ सय रुपैयाँ जरिवाना समेत हुनेछ। निर्वाचन खर्च पेस नगरेका उम्मेदवारलाई छिटो भन्दा छिटो पेस गर्न समेत जिल्ला निर्वाचन कार्यालय बैतडीले अनुरोध गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.