|

उदयपुर  : नेपाली समाजमा महिनावारी हुँदा महिलाको लागि धेरै प्रकारका कुसंस्कारले प्रतिबन्ध लगाइन्छ। पश्चिम नेपालमा छाउगोठ बढी चर्चा हुन्छ भने पूर्वमा पनि कमी छैन। महिनावारी भएकी किशोरीलाई पाँच दिनसम्म परिवारका सबै सदस्यहरुसँग बसेर खाना पनि खान दिइँदैन।

अर्थात् पूरै प्रतिबन्ध लगाइन्छ। उदयपुरको हकमा अझै पनि पहाडी क्षेत्रमा महिनावारी भएको वेला विद्यालय पढ्ने उमेर समूहका किशोरीहरु विद्यालय जाँदैनन्। महिनावारी भएको वेला विद्यालयमा आउने छात्राको संख्या कमै हुन्छ। त्यो बजार वा गाउँका विद्यालय होस, प्रस्टै देखिन्छ। विद्यालयमा पढ्ने छात्राको लागि महिनावारी एउटा ठूलो समस्या बनेको छ।

पछिल्लो समय यस्ता समस्या अहिले समान्य बन्दै गएका छन्। उदयपुरको कटारी नगरपालिका ४ मा रहेको माध्यामिक विद्यालयका मरुवामा अहिले त्यही समस्या पूर्ण रुपमा हटेको देखिन्छ। मावि मरुवामा छात्राहरुलाई महिनावारी भएको बेला सेनेटरी प्याडदेखि अन्या सरसफाइका सामान खरिदको लागि निरन्तर रुपमा छात्रले सहयोग गर्ने गर्दछन्। विद्यालयकी शिक्षिका उर्मिला खड्काले भन्छिन्, ‘महिनावारी भएको वेला हामी शिक्षिकालाई समेत समस्या हुने गर्दथ्यो, अहिले पूरै हटेको छ।’ उनका अनुसार अहिले विद्यालयमानै सेनेटरी प्याड पाइने भएकाले छात्रा वा शिक्षिका दुवैको समस्या समाधान भएको छ।

विद्यालयमै शान्ति चेतना मरुवा बालक्लबद्वारा सञ्चालित सरसफाइ दानपेटिका नै खडा गरेका छन्। ‘विद्यालयमा भएका ६ सयभन्दा बढी विद्यार्थीले मासिक रुपमा दान पेटिकामा खाजाको पैसा कटाएर जम्मा गरिदिन्छन्,’ शिक्षक श्यामप्रसाद दाहालले भने, ‘त्यही पैसाले छात्राहरुको लागि महिनावारी भएको बेला आवश्यक पर्ने साबुन, प्याड खरिद गररेर ल्याउने गरेका छन्।’

खाजाको पैसा कटाएर केटा साथीहरुले पनि सरसफाइ दान पेटिकामा पैसा जम्मा गरिदिने गरेको बालक्लबकी सचिव कोपिला राउतले बताइन्। ‘हाम्रो नजिकै रहेको विद्यालयमा यस्तो छैन रे,’ राउतले भनिन्, ‘हाम्रो विद्यालयमा सबैले छात्रा साथीहरुको समस्याप्रति छात्र साथीहरुले पनि सहयोग गर्नुहुन्छ।’ अहिले विद्यालयमा दुवै छात्रा र छात्र मिलेर बालक्लबमार्फत विद्यालयमा प्रजनन स्वास्थ्य लगायतका मानव स्वास्थ्यबारे खुलेर बहस गर्ने भएका छन्।

महिनावारी शिक्षा उपलब्धि

विद्यालयमा पढ्ने उमेरका छात्राको उपस्थिति बढाउने र विभिन्न खाले रोगको संक्रमणबाट बचाउने उद्देश्यले उदयपुरमा सञ्चालित विद्यालय महिनावारी स्वास्थ्य व्यवस्थापन कार्यक्रम ९एसएमएचएमपी० मावि मरुवा पनि लागू भएको छ।

विद्यालयका प्रधानध्यापक नारायणप्रसाद अधिकारीले विद्यालयमा महिनावारी शिक्षा लागू गरेपछि छात्राहरुको उपस्थिति दरबिलो बन्दै गएको बताए। ‘महिनावारी शिक्षा लागू भएपछि महिनावारी भएको वेला विद्यालय आउने छात्राहरु बढेका छन्, उनले भने, ‘पहिला पहिला महिनावारी भएको बेला पाँच दिनसम्म कक्षा छाड्ने छात्राहरु अहिले निरन्तर रुपमा आउने गरेका छन्।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्णबहादुर कटुवालले विद्यालयमा छात्रामैत्री शैचालयसमेत भएको बताए। ‘विद्यालयमा सेनेटरी प्याडको व्यवस्था नहुँदा हरेक महिना कम्तीमा ३ देखि ५ दिन छात्राहरु अनुपस्थित हुने गर्दथ्यो,’ अध्यक्ष कटुवालले भने, ‘पहिलेको तुलनामा अहिले धेरै सहज भएको छ, पहिले विद्यालयमा सरसफाई सामाग्री, प्याड, तथा चेन्जिङ रुम  थिएन, अहिले सबै छ।’   

जिल्ला शिक्षा कार्यालय उदयपुरका अनुसार स्वास्थ्यका लागि खानेपानी नेवासँगको सहकार्यमा दुई वर्षदेखि उदयपुरमा महिनावारीसम्बन्धि जनचेतनामूलक र भौतिक व्यवस्थापन कार्यक्रम सञ्चालन गर्दै आएको छ। किशोरीहरुको स्वास्थ्य र शिक्षालाई ध्यानमा राखेर लागू गरिएको कार्यक्रमअन्तर्गत जिल्लाका ४४ वटा विद्यालयका १२ हजार बढी किशोरीहरुलाई प्रत्यक्ष फाइदा पुगेको शिक्षा कार्यालय उदयपुरका प्रमुख हरिहर धितालले बताए। ‘यस शिक्षालाई जिल्ला व्यापी बनाउन अवाश्यक देखिन्छ,’ उनले भने, ‘विस्तारै स्थानीय तहबाटै प्रयार गर्दै गयो भने, अझ राम्रो होला।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.