|

जुम्ला : तिला गाउँपालिका ३ र ४ वडामा रहेको कुडारी त्रिवेणीमा सञ्चालन भएको विश्वकल्याण कोटिहोम महायज्ञमा झण्डै ३० लाख रुपैयाँ संकलन भएको छ। 

२३ लाख ४ सय रुपैया नगद र बाँकी ७ लाख रुपैयाँ बराबरको जग्गा दानबाट संकलन भएको महायज्ञ मूल समारोह समितिका महासचिव शान्तिनाथ योगीले जानकारी दिए। महायज्ञमा भक्तालुहरुले गौदान, तुलादान, भूमिदान, अन्नदान विभिन्न दान गरेको थिए।

भूमिदान भने ७ जनाले गरेको महासचिव योगीले बताए। जसमा हरिलाल शाही, जया शाही, अझबहादुर शाही, दलवीर शाही, मुनिराम सुनार, लालबहादुर शाही र शेरबहादुर शाही रहेको उनले जनाए।

प्रमुख वाचक शिरोमणि आचार्य नारायणशरण महाराजले यस विश्वकल्याण कोटिहोमबाट सभ्यता र ठूला मनका मान्छे गाउँमा रहेको अनुभूति भएको जनाए। 'महान् कार्यका लागि १५ दिनसम्म निरन्तर खटिएर सम्पन गर्न सहयोग गर्ने तपाई महान् जनतालाई कोटी कोटी धन्यवाद दिन्छु', उनले भने। सम्पन्न यो विश्वकल्याण कोटिहोम अब विश्वको विश्वासको धाम बन्ने र यसका लागि आफ्नो क्षेत्रबाट सहयोग पुर्‍याउने उनले बताएका थिए। 

कोटिहोममा कालिकोट, मुगु, डोल्पा, जाजरकोट, सुर्खेत, दैलेख लगायत गरेर करिब ६० हजार मान्छेले त्रिवेणी धाममा उपस्थित भएर गएको मूल समारोह समितिका संयोजक गोरखबहादुर शाहीले बताए। 'गाउँस्तरमा ईतिहासमा पहिलो पटक विश्वकल्याण कोटिहोम लगाएर सफल भइएको छ, यसमा मैले आफूलाई भाग्यमानी ठानेको छु', संयोजक शाहीले भने।

त्रिवेणी धाम जुम्ला सदरमुकामबाट २० किलोमिटर टाढा रहेको छ। भदौ ६ गतेदेखि शुरु भएको विश्व कल्याण कोटिहोम ब्राम्हणहरुले जलको छिटा हालेर २१ गते सकिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.