|

काठमाडौं: नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको १०४ औं जन्मजयन्तीको उपलक्ष्यमा वीपी संग्रहालय समितिले प्रदान गरेको वीपी साहित्यिक पुरस्कार विवादित बनेको छ। समितिका संस्थापक अध्यक्ष पर्शुराम पोखरेलको एकल निर्णयबाट कांग्रेस केन्द्रीय सदस्य प्रदीप गिरीलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको भन्दै समितिका अन्य सदस्यले विरोध गरे।

प्रधानमन्त्री शेरबहादुर देउवाको सल्लाहमा गिरीलाई वीपीको नाममा पुरकार दिएको सञ्चालक सदस्यहरुको आरोप छ। सञ्चालक समिति भित्रै विरोध भएपछि पोखरेलले कांग्रेसका पूर्वसांसद लेखनाथ न्यौपाने वीपी प्रजातान्त्रिक पुरस्कार प्रदान गरेर घटनालाई थामथुम पार्ने कोसिस गरेका छन्। यसअघि यो पुरस्कार जीउँदो शहिद भनेर चिनिएका अरविन्द ठाकुर, प्रजातन्त्र सेनानी रामहरि जोशीलाई प्रदान गरिएको थियो।

संञ्चालक समितिका उपाध्यक्ष वीपी पुत्र श्रीहर्ष कोइराला, सचिव तारणीदत्त चटौत, सदस्यहरु पुरुषोत्तम बस्नेत, कूलचन्द्र वाग्ले, सांसद किरण यादवसँग सल्लाह नै नगरी पोखरेलले गिरीलाई पुरस्कार दिने निर्णय गरिसकेको जानकारी गराएका थिए।

पोखरेल बाहेकका पदाधिकारी र सदस्य वि.सं. २०१५ सालको संसदका सदस्य तेजनाथ तुम्बाहाम्फेलाई पुरस्कार दिनुपर्ने पक्षमा थिए। तर पोखरेलले गिरीको नाम सिफारिस गरे।

गिरीलाई पुरस्कृत गर्ने विषय विवादस्पद बनेपछि पोखरेलले लेखनाथ न्यौपानेलाई पनि पुरस्कृत गर्ने निर्णय गरेर घटना थामथुम बनाउने प्रयास गरेका हुन्। वीपी प्रजातान्त्रिक पुरस्कार र वीपी साहित्यिक पुरस्कारको राशी जनही एक लाख रुपैयाँ रहेको छ।

यसकारण विवादमा तानिएका हुन् गिरी

२०३१ साल जेठमा भारतको बनारसबाट बेडिङ (विछ्यौना) मा बम लिएर काठमाडौं छिरेका चार कांग्रेस कार्यकर्ताको सूराकी गरेको आरोप कांग्रेस केन्द्रीय सदस्य गिरीमाथि लाग्ने गरेको छ। भारतको बनारसमा निर्वासित जीवन बिताइरहेका वीपी कोइरालाले २०३१ सालमा नेपाल भित्रैबाट सशस्त्र संघर्ष गर्न भनी हतियारसहित कार्यकर्तालाई नेपाल पठाएका थिए। तर प्रहरीले त्यतिबेला उनीहरुलाई खानतलासी नै नगरी काठमाडौंको पुरानो बसपार्कबाट पक्राउ गर्‍यो अर्थात पञ्चायत सरकारलाई यस घटनाको पूर्व जानकारी थियो। तत्कालीन सरकारलाई उक्त घटनाको सुराकी दिएको आरोप गिरीमाथि लाग्दै आएको छ।

बनारसबाट सिरानीमा बम हालेर पठाउँदा नोना कोइराला, शैलजा आचार्य र प्रदीप गिरीलाई मात्र यस घटनाबारे थाहा भएको र यही कुरा चुहिएपछि तत्कालीन सरकारले उनीहरुलाई पक्राउ गरेको जानकारहरु बताउँछन्।

कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको स्वकिय सचिव रहेका बालकृष्ण दाहालद्वारा सम्पादित तथा लिखित पुस्तक ‘ओखलढुंगाका पाँच अमर शहिद र तिनका श्रृजना’ मा समेत गिरीलाई चार कांग्रेसका कार्यकर्ता बमसहित गिरफ्तार भएपछि सुराकीको आशंकामा पार्टीबाट निकालिएको कुरा उल्लेख छ।

२०३१ साल असोज १३ गते नख्खु कारागारबाट निकालेर मारिएका चारसहित लिलानाथ, ठगी, गोकर्ण र खगेन्द्र थिए। बालकृष्ण दाहाल लिलानाथका पुत्र हुन्। गिरीले सुराकी दिएको आरोपमा त्यसबेला वीपीसँगै बनारसमा बसेका यूवा खुमबहादुर खड्काले गिरीलाई ‘थप्पड’ लगाएका थिए।

आफूलाई सुराकीको आरोप लगाएको र कुटपिट समेत भएको भन्दै नेता गिरी बनारसबाट नयाँ दिल्ली गएका थिए। प्रदीप गिरी बनारसबाट नयाँ दिल्ली सरेको र चारजना कांग्रेस बमसहित गिरफ्तारमा परेपछि तुलसी गिरी नेपालको प्रधानमन्त्री बनेका थिए। ‘धेरै घटनाक्रम र परिवेशले सो घटना सुराकीकै आधारमा भएको भनेर मेरो पुस्तकमा उल्लेख छ’, पुस्तकका लेखक बिकेडी (बालकृष्ण दाहाल) ले थाहाखबरलाई बताए।

दाहालले राजनीतिक विषयमा गिरीलाई पार्टीले कहिले कारवाही गरेको भन्ने घटना आफूलाई थाहा नभएको बताए। गिरी २०५१ सालपछि नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा आएका थिए। उनले सोही वर्ष सिरहा क्षेत्र नम्वर पाँचबाट संसद सदस्यको चुनाव जितेका थिए।

यसरी सुराकीको आरोप लाग्दै आएका व्यक्तिलाई पुरस्कार दिन नमिल्ने भन्दै सञ्चालन समितिका सदस्यहरुले असहमति राखेका हुन्।  पुरस्कार वितरण गर्ने निर्णयका विषयमा जिज्ञासा राख्दा समिति सदस्य पुरुषोत्तम बस्नेतले समितिको आन्तरिक विषय भएकोले सार्वजनिक गर्न नमिल्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.